२० असार २०८३, शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सारथी’को छायाङ्कन दलित बस्ती गुर्जामा



बेनी
चलचित्र ‘सारथी’को छायाङ्कन दलित बस्ती गुर्जामा सुरु भएको छ ।
छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा पहिलोपटक चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने पहिलो पटक हो । गुर्जा र चुरेन हिमाल अवस्थित गुर्जामा रहेको प्राकृतिक, सांस्कृतिक र परम्परागत जनजीवनको पाटोलाई समेत समेटेर चलचित्रका दृश्य खिच्न थालिएको छ । सामाजिक कथावस्तुमा आधारित सारथी चलचित्रको निर्माण टोली दुई सातादेखि गुर्जामै बसेर चलचित्र निर्माणका लागि कलाकारहरूको अभिनय छायाङ्कन गरिरहेको प्रमुख निर्माता तारा थापाले बताए ।

चलचित्र निर्माणका लागि करिब ६० जनाको समूह गुर्जा पुगेको छ । गुर्जाको मुख्य बस्ती, देउराली डाँडालगायत क्षेत्रमा दृश्य छायाङ्कनको काम भइरहेको छ । उत्तम प्रधान, निरुता सिंह, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारको अभिनय रहने यस चलचित्रमा गुर्जाकै कलाकार गिरी विश्वकर्मासहित गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मालगायतका नयाँ कलाकारको पनि अभिनय रहने प्रमुख निर्माता थापाले बताए ।

यस चलचित्रको अधिकांश दृश्य गुर्जा वरपर नै छायाङ्कन गरिने निर्देशक कुमार गजुरेलले जानकारी दिए। गुर्जाकै सामाजिक विषयलाई कथावस्तु बनाएर तयार गर्न लागिएको यस चलचित्रको माध्ययमबाट गुर्जामा लुकेर रहेको पर्यटन सम्भावनालाई समेत विश्वमाझ परिचित गराउन सहयोग पुग्ने उनले बताएका छन् ।

“केही वर्षअघि हामी गुर्जा हिमालको आधार शिविर पुगेका थियौँ, त्यसबखत नै हामीले गुर्जामा फिल्म बनाउने निधो गरेका थियौँ, यहाँको भूबनोट र प्राकृतिक सौन्दर्यताले गुर्जालाई फिल्म सिटीका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ”, निर्देशक गजुरेलले भने । गुर्जामा संसारलाई चिनाउनुपर्ने धेरै ठाउँ र कला संस्कृति भएकाले राष्ट्रियस्तरबाट यसको पहल हुनुपर्ने उनको भनाइ छ ।

जिल्लाकै सबैभन्दा दुर्गम बस्तीको उममा पाएको गुर्जामा हालैमात्र सडक सञ्जालको पहुँच जोडिएको छ । भूगोलले दूरी टाढा भए पनि प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण गुर्जामा फिल्म छायाङ्कनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसारमा सघाउने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । “पहिले केही गीतहरूको भिडियो छायाङ्कन भएका थिए, यसपटक ठूलो पर्दाको चलचित्र नै यहाँ बनिरहेको छ, यसले गुर्जालाई थप परिचित गराउन भूमिका खेल्ने अपेक्षा गरेका छाँै”, उनले भने ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा चलचित्र बन्नेछ । तीस वर्ष लामो फिल्म सम्पादनको अनुभव सम्हालेका तारा थापाले निर्माण गर्न लागेको यस चलचित्रको निर्मातामा सौर्यल थापा, रदिप श्रेष्ठ, धीरज तामाङ र प्रदीप रायमाझी निर्माताका रूपमा रहेका छन् भने कुमार गजुरेलको डेव्यु निर्देशन रहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।