काठमाडौं
बिहीबारबाट प्रर्दशनमा आएको नेपाली चलचित्र ’अञ्जिला’ हेरेर दर्शक भावुक बनेका छन् । व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
निर्देशक मिलन चाम्स, कलाकार तथा निर्माता प्रेमकुमार श्रेष्ठ, कलाकार सुमीन गुरुङसहितको चलचित्र टिम दर्शक भेट्न हल पुग्दा अधिकांश दर्शकहरू रोइरहेका देखिन्थे ।
’अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
बिहीबार साँझ राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राईले पनि चलचित्र ’अञ्जिला’ हेरेकी छन् । “यस चलचित्रमा देखाइएको भन्दा पनि धेरै सङ्घर्ष एन्जिलाले गरेकी छन्, जुन मलाई थाहा छ ।“ राईले भनिन्, “एन्जिलालाई यो ठाउँमा देख्दा मलाई एकदमै खुसी महसुस भइरहेको छ। ।”
निर्देशक मिलन चाम्सले आफूले चाहेर पनि एन्जिलाको जीवनमा घटेका थप दर्दनाक घटनाहरू देखाउन नसकेको बताए । “हामीले चाहेर पनि सबै देखाउन सकेनौँ, यो चलचित्रमा आएको कथा त २५ प्रतिशत मात्रै हो । चलचित्र बनाउने क्रममा यत्तिमै म धेरै पटक रोएको छु, सबै कथा त म भन्नै सक्दिन,“ चाम्सले दर्शकहरूसँग भने ।
चलचित्रले प्रदर्शनको पहिलो दिन देशभरका प्रायः शोहरू हाउस फुल दर्शकका साथ चलेको जुन आफ्नो अपेक्षाभन्दा पनि माथि रहेको निर्देशक चाम्सले बताए । अहिले सोसल मिडियामा ’अञ्जिला’को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।
प्रतिक्रिया