काठमाडौं
गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना चलचित्र भवनमा आज लगातार ५१ औँ दिन पूरा गरेको छ । चलचित्र लगातार ५१ औं दिनसम्म हुन सफल भएको भन्दै निर्माण पक्षले विशेष कार्यक्रम आयोजना गरेर कलाकार र निर्माणमा सम्बद्धहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा कलाकारहरू पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँ लगायतलाई सम्मान पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा चलचित्रमा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएर प्रमाणपत्र वितरण गरेका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो चलचित्र नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।
नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो चलचित्र नै दर्शकको प्रेमले सफल बनाएको भन्दै आभार प्रकट गरे । उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि ’विश्वविद्यालय’ भएको बताउँदै यस चलचित्रबाट सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरे ।
निर्देशक सशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले चलचित्रलाई साथ र समर्थन गरेका दर्शक तथा पत्रकारहरूप्रति धन्यवाद व्यक्त गरे ।
‘होस्टेल’ चलचित्र शृङ्खला नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने चलचित्रका रूपमा चिनिन्छ । यसको तेस्रो श्रङ्खला ’होस्टेल ३’ले पनि व्यापक सम्भावना बोकेका केही कलाकारलाई परिचित गराएको छ ।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
प्रतिक्रिया