काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ भनी लेखेका हुन् ।
उनले लेखेका छन्,’कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैले आफ्ना विचार खुल्ला रुपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ ।’
उनले अगाडि लेखेका छन्, ‘दयालुता फैलाऔँ । नेपालीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न ।’
केही दिनयता एक टेलिभिजन कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण भइरहेको छ । रजतपट अनलाइट टीभी नामक युट्युब च्यानलमा तीन दिनअघि सार्वजनिक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै उनीकेन्द्रित प्रश्न सोधेका थिए, ‘भविष्यमा उहाँलाई कुन रुपमा हेर्न चाहनुहुन्छ ?’
सुरक्षाले हृदयेन्द्रको लुक्स राम्रो भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् । थपेकी थिइन्, ‘लुक्स राम्रो छ । अभिनय पनि सक्नुहुन्छ होला । कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ । सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई ।’ प्रश्नकर्ता सुवेदीले थप्दै भने, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु ।’
जवाफमा सुरक्षाले भनिन्, ‘राजा बनाउने भन्ने कुरा कहाँ, हामीले स्वीकारेकै छैनौं । त्यो त भन्न सकिन्नँ ।’प्रश्नकर्ताले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो देखाउँदा सुरक्षाले सौहार्दपूर्ण तरिकाले आफ्नो विचार राखेकी थिइन् । उनले पूर्वराजा शाह देशको सामान्य नागरिक, सचेत जनता भनेकी थिइन् ।
प्रश्नकर्ताले सन्दर्भलाई ‘राजा कि गणतन्त्र’ भन्नेतर्फ लगिरहँदा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनुपर्ने मत राखेकी थिइन् । त्यही अभिव्यक्तिलाई लिएर अहिले सुरक्षामाथि सामाजिक सञ्जालमा राजावादीहरूले आक्रोश पोखिरहेका छन् ।








प्रतिक्रिया