९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सिनेपा’ चलचित्र छायाङ्कन स्टुडियो निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित



यो राम्रो कामको सुरुआत हो । हामीले केही गरेनौँभन्दा पनि गरिरहेका छौँ, प्रयासरत छौँ भन्ने सन्देश दिनु राम्रो हो । समयमै स्टुडियो निर्माण पनि सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु । हामी सकारात्मक सोच राखेर आशावादी हुनुपर्छ, त्यसले सुन्दर नतिजा दिन्छ
काठमाडौं
‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुने उक्त स्टुडियोको निर्माण आरम्भ भएको उद्घोष गरेका थिए ।
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त स्टुडियोले चलचित्रकर्मीलाई छायाङ्कनलगायतको प्रयोजनका लागि सहयोगी हुने विश्वास गरिएको छ । स्टुडियो निर्माणका लागि झन्डै रु ३७ करोड लागत अनुमान गरिएको छ ।
अभिनेता तथा निर्देशक नीर शाहले छ दशकदेखि अभाव बल्ल पूरा हुने आशा पलाएको प्रतिक्रिया दिएका छन् । आफू विसं २०२२ मा एउटा चलचित्र छायाङ्कनका लागि नेपाल बाहिर जानुपर्ने अवस्थालाई स्मरण गर्दै निर्देशक शाहले आगामी दिनमा प्रविधियुक्त स्टुडियो निर्माण गरेर विदेशी चलचित्रकर्मीलाई आकर्षित गर्नुपर्ने बताएका छन् ।
“ढिलै भए पनि हामीले स्टुडियो बनाउने उद्घोष गरेका छौँ । यो एउटा नयाँ युगको सुरुआत हो । यसबाट हामीले आफ्ना नवीनतम् कामलाई सुरुआत गर्न सक्छौँ”, अभिनेता शाहले भने । उनले सरोकारवाला निकायले उत्तरदायी भूमिका निर्वाह गरेकै कारण स्टुडियो निर्माण प्रारम्भ भएको बताउँदै समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले स्टुडियोले चलचित्रकर्मीको कामलाई सहज बनाउने विश्वास व्यक्त गरे । “हामीले प्राविधिक सहायताले धेरै काम गर्न सक्छौँ । स्टुडियो समयमै निर्माण भएर चलचित्रकर्मीले उपयोग गर्न पाएमा यसबाट हामीले नयाँ किसिमको चलचित्र निर्माणसँगै अन्य धेरै फाइदा लिन सक्छौँ । यो हामी चलचित्रकर्मीका लागि सुखद समाचार हो”, उनले भने ।
‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । अभिनेता तथा निर्माता दीपकराज गिरीले स्टुडियो बन्ने खबरले चलचित्रकर्मीहरू उत्साहित भएको बताएका छन् ।
“यो राम्रो कामको सुरुआत हो । हामीले केही गरेनौँभन्दा पनि गरिरहेका छौँ, प्रयासरत छौँ भन्ने सन्देश दिनु राम्रो हो । समयमै स्टुडियो निर्माण पनि सम्पन्न हुन्छ भन्ने विश्वास मैले लिएको छु । हामी सकारात्मक सोच राखेर आशावादी हुनुपर्छ, त्यसले सुन्दर नतिजा दिन्छ”, अभिनेता गिरीले भने ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले अध्यक्ष पदको कार्यभार सम्हालेदेखि नै तीन वटा काम पूरा गर्ने लक्ष्य लिएको बताएका छन् ।  “चलचित्र क्षेत्रलाई समयानुकूल बनाउन परिमार्जित चलचित्र ऐन, रियल टाइम बक्सअफिस डाटा र अत्याधुनिक सुविधासम्पन्न स्टुडियो प्राथमिकतामा राखेर काम गरेको थिए, हामीले यी तीनै काममा सफलता हात पारेका छौँ । यसले नेपाली चलचित्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त छौँ”, अध्यक्ष डिसीले भने ।
कार्यक्रममा मिलन चाम्स, दीपाश्री निरौला, निर्मल शर्मा, अर्जुनकुमार, सिताराम कट्टेल, जीतु नेपाल, वसुन्धरा भुसाललगायत कलाकर्मी उपस्थित थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।