म आफैँ सहकारी पीडित हुँ, मैले यसका विरुद्धमा आवाज उठाएँ, आन्दोलन गरे, तर न्याय अझैँ पाएकी छैन
काठमाडौ
सहकारी पिडितको कथामा निर्माण भएको चलचित्र ‘महाभोज’को कलाकार बसुन्धारा भुसाल आफै पिडित भएको राजधानीमा आयोजित एक कार्यक्रममा भावुक बन्दै बताएकी छिन् ।
राजधानीमा रहेको सिभिल सहकारीले पैसा फिर्ता नगर्दा आफूलगायत साथीहरु पिडित बन्नु परेको कलाकार बसुन्धरा भुसालले गुनासो गरेकी छिन् ।
https://www.youtube.com/watch?v=T4Z7IgCFNDw&t=2s
“म आफैँ सहकारी पीडित हुँ, मैले यसका विरुद्धमा आवाज उठाएँ, आन्दोलन गरे, तर न्याय अझैँ पाएकी छैन । यो चलचित्र हामीजस्ता अन्यायमा परेका पीडितको आवाज बनेको छ । यसले एउटा बुलन्द आवाज उठान गर्छ भन्ने मैले विश्वास लिएकी छु”, अभिनेत्री भुसालले भनिन् ।
कतिपय आफ्ना मान्छेहरु सहकारीमा राखेको पैसा नपाएको र उपचार अभावमा निधन समेत भएको बताइन् । उनले कलाकार चैत्यदेविको समेत ठूलो रकम सो सहकारीले फिर्ता नगर्दा अप्ठ्यारो भएको उनले बताइन् ।
सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर चलचित्र ‘महाभोज’ तयार गरिएको निर्देशक दिनेश राउतले बताएका छन् । आइतबार दरबारमार्गस्थित राइजिङ मलस्थित चलचित्र भवनमा ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले समाचारमा आएका घटनाक्रम र सहकारी पीडतको विषय बुझेर चलचित्र तयार गरेको जानकारी दिएका छन् ।
“सहकारीमा एक परिवारले बचत गरेको रकम अपचलन हुँदा त्यसले परिवारसँगै समाजमा पार्ने असरलाई देखाएका छौँ । चलचित्रलाई समाजको ऐना पनि भनिन्छ, त्यसैले अहिलेको समसामयिक विषयलाई यस चलचित्रमा प्रस्तुत गरेका हौँ । यद्यपी यो सहकारीको विषयमा मात्र केन्द्रित छैन”, निर्देशक राउतले भने ।
विदेश र काठमाडौँबाट गाउँ फर्किएका युवा र गाउँमै रहेका युवाको सोचलाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ । सार्वजनिक गरिएको श्रव्यदृश्यमा सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्त रूपमा उठाइएको उनले बताएका छन् ।
चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन् । ट्रेलरमा देखाइएझैँ, सहकारीमा जीवनभर रकम बचत गरेका मानिसले रकम फिर्ता नपाउँदा जीविकोपार्जनमा कठिनाइ भोग्नु परेको अभिनेत्री भुसालले बताइन् ।
पत्रकार सम्मेलनमा सहभागी कलाकारले सहकारीसँग जोडिएको आफ्नो अनुभव सुनाएका थिए । विकास सुवेदीद्वारा लिखित कथा तथा पटकथामा तयार पारिएको चलचित्रलाई क्लकवर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा निर्माण गरेको हो । उक्त चलचित्र यही जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ ।








प्रतिक्रिया