१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा चलचित्रको प्रचारका लागि सहकारी समस्याबारे सडक नाटक देखाउदै ‘महाभोज’ टिम



 

काठमाडौं
आउदो साताबाट प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’ले राजधानीका विभिन्न स्थानमा सहकारीका समस्यालाई विषयबस्तु बनाएर नाटक मार्फत चलचित्रको प्रचारप्रसारमा जुटेको छ ।

नयाँ प्रचार शैली अपनाउँदै चलचित्र ‘महाभोज’ को यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको हो ।

शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ ।

चलचित्रका निर्माता अनुसार यो अभियान चलचित्र प्रर्दशनसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबिचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन् ।
कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो ।

दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने चलचित्र हो । यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा एकसाथ प्रर्दशन हुँदैछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।