२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नरसिंहा अवतार’ : पुराना पुस्ताका दर्शकका लागि मिठो चटनी



महानायक हमालको डाइलग डेलिभरी, स्टारडमभित्र लुकेको बलियो अभिनय क्षमता अर्को सुन्दर पक्ष हो ।

ललितखबर
राजेश हमालको अभिनय मन पराउने पुरानो पुस्ताका लागि खुशीको खबर छ । शुक्रबारबाट महानायक हमालको अभिनय रहेको चलचित्र नरसिंहाः अवतार प्रर्दशन सुरु भएको छ । अन्याय र अत्याचारविरुद्ध ‘ह’े भन्दै चिच्चाउने हमालको पुरानो शैलीको अभिनय हेर्न आतुर दर्शकहरुले टिकट काटेर चलचित्र हेर्दा हुन्छ ।
लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा टिक्ने अनि बिक्ने अभिनेता हुन्, राजेश हमाल । करिव २० वर्ष नेपाली चलचित्र क्षेत्रमा एकलौटी ‘हिरो’को रुपमा राज गरेको राजेश हमाललाई दर्शकले महानायक(सुपरस्टार) स्वीकारे ।
बुढ्यौली वयमा अघि बढिरहेका उनी राजेश हमालको ८ बर्षपछि चलचित्र नरसिंहाः अवतार प्रर्दशन सुरु भएको हो । दर्जनौं सुपर हिट दिएका महानायक हमालको अभिनय रहेको भन्दै प्रचार गरिएको चलचित्र व्यावसायिक रुपमा निर्माण गरिएको देखिन्छ ।

कथासार
अविनास विक्रम थापा(प्रहरी अफिसर राजेश हमाल) र डिजेन्द्र प्रताप सिंह(प्रशान्त ताम्रकार)बीच दुस्मनी छ ।
राजनीतिको आडमा डिजेन्द्र गुण्डागर्दीको बर्चस्व, नेताको साँठगाठले चलेको प्रहरी प्रशासन । प्रहरीभित्रको अत्याचारी प्रवृतिभित्र जव एउटा इमानदार प्रहरी अफिसर अविनास विक्रमको हातमा जिम्मेवारी पुग्छ । चलचित्रले गति लिएको छ । अत्याचारी डिजेन्द्रको श्रृखलाबद्ध हत्याका दृश्यले आँङ नै सिरिङ बनाउछ ।

 

निर्माणपक्षले चलचित्रको कास्टिङमा गल्ती गरेको चलचित्र हेर्ने दर्शकले अनुभव गर्न सक्नेछन्

उता विजयविक्रम थापा (राज कटुवाल) र कुशुम (सनिशा)को जीवन उजाड बनाउन डिजेन्द्रको अत्याचारी हर्कत टिठलाग्दो देखाइएको छ । यही अत्याचारबीच चलचित्रको एउटा पात्र नरसिंह अवतारको भेषमा गुण्डा र अत्याचारी प्रहरीको श्रृखलाबद्ध हत्या गरिरहेको हुन्छ । यस्ता रोचक दृश्य हेरेर साडे दुई घण्टा मनोरञ्जन लिन सकिन्छ ।
कमजोरी
चलचित्रको कथा सलल बगेको छैन । मध्यान्तरअघिसम्म कथा बुझ्नै हम्मे पर्छ । मन्द गतिमा चलचित्र सुरु गरेर उत्कर्षमा पु¥याउने उल्टो पिरामिड शैलीमा कथा बुनिएको छैन । श्रृखलाबद्ध हत्या लडाईबाट सुरु हुने चलचित्र अन्त्य पनि उसै गरि टुंगिन्छ । ठाँउ ठाँउमा कथा र त्यसभित्रको रहस्य बुझ्न दर्शकलाई हम्मे हम्मे पर्छ ।

निर्माणपक्षले चलचित्रको कास्टिङमा गल्ती गरेको चलचित्र हेर्ने दर्शकले अनुभव गर्न सक्नेछन् ।
एकातिर यति बुढो उमेरको प्रहरी अफिसर पनि हुन्छ र ? भन्ने प्रश्न उठाउन सकिने ठाँउमा राजेश हमाललाई राखिएको छ भने विगतका चलचित्रहरुमा राम्रो अभिनय गर्न नसकेकी नीति शाहलाई चलचित्रमा दोहो¥याइएको छ । चलचित्रको महत्वपूर्ण भूमिकामा नव अभिनेत्री सनिशा भट्टराई र उषा खड्गीलाई राखेर जोखिम मोलिएको छ । चलचित्रको खलपात्र पनि चलचित्र क्षेत्रमा चर्चा कमाउन नसकेका प्रशान्त ताम्रकार छन् ।
चलचित्रमा यतार्थवादी भन्दा पनि कल्पनाशिलताको प्रयोग पाइन्छ । अब गुण्डाहरुको अत्याचार सुरु हुन्छ । एकाएक नरसिंहाः आएर श्रृखलाबद्ध हत्या गर्नु कसरी सम्भव भयो होला ? यस्तै प्रश्न उठ्ने ठाँउहरु छन् । ५०को दशकमा दर्शकले हेर्ने पुरानो कथ्यशैलीलाई चलचित्रमा समेटिएको छ ।

चलचित्रको पटकथा र संवाद पनि खासै दमदार छैन ।
कथामा एक पछि अर्को बलियो पात्र खडा गरिएको कारण पनि हुनसक्छ कथा धेरै ठाँउमा अलमल्लिएको छ । चलचित्रमा धेरै पात्रहरु कोचिएको भान हुन्छ ।

कलात्मक प्रस्तुतीकरणमा पनि चलचित्र उत्ति बलियो छैन । नवीन शैली र प्रस्तुतीलाई निर्देशक भट्राईले प्राथमिकता दिएको भेटिन्न । चलचित्र एउटा टिमको काम हो भनेर व्याख्या गर्ने हो भने पनि पार्शसंगीत,भेषभुसा,मेकअप, क्यामेरा एंगल, संगीत, पटकथा संवाद र सम्पादनलगायत पक्षहरु केलाउदा सबै औसत भेटिन्छन् ।
कमजोर अभिनयका कारण नवअभिनेत्री सनिशा भट्राई र राज कटुवालको केमेष्ट्रि मिलेको छ्रैन ।

सुन्दर पक्ष
चलचित्रभित्र बेजोडको एक्सन छ । मायाँ प्रेम र रोमान्स छ । दुुःख र पिडाले आँशु झार्ने कथा छ । व्यथा छ ।

तिम्रो मात्रै हुने मन छ बोलको गीतमा कोरियोग्राफर माइकल चन्दको राज र सनिशालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् । दुवैको नृत्य राम्रो छ । गीत छायांकन स्थल पनि सुन्दर छन् । ‘अच्छा लेकिन लण्डनमा भेटौला’ बोलको गीतमा कोरियोग्राफर कविराज गहतराजले आफ्नो भरपुर क्षमता देखाएका छन् । गीतमा कलाकारहरुको नृत्य बेजोड छ ।


चलचित्रभित्र थुप्रै रहस्यलाई लुकाएर दर्शकलाई कौतुहल जगाउन सक्षम छ । लामो समयसम्म नरसिंहाले गरेको उपद्रो र ऊ को हो भन्ने लुकाएर कौतुहल श्रृजना गरिएको छ । कुसुम र सुवासबीचको प्रेम, घृणा र विवाहको रहस्यले दर्शकलाई चकित पारिएको छ ।
चलचित्रमा महानायक राजेश हमालको दमदार उपस्थितीले पनि चलचित्रलाई राम्रो बनाउन सहयोग गरेको छ । महानायक हमालको डाइलग डेलिभरी, स्टारडमभित्र लुकेको बलियो अभिनय क्षमता अर्को सुन्दर पक्ष हो ।


राजेश हमाल
पर्दामा महानायक राजेश हमालको दमदार उपस्थिती छ । प्रहरी अफिसर एसएसपिको भूमिकामा रहेका हमालले एउटा आर्दश पात्रलाई अगाडि बढाएका छन् । दमदार डाइलग डेलिभरिसँगै उनको अभिनय सशक्त देखिन्छ । पर्दामा महानायक हमालले राम्रो एक्सन पनि देखाएका छन् । चलचित्र हेरिरहँदा हमालको अनुहारमा बुढ्यौलीमा रेखा देखिदा प्रहरी अफिसरमा नसुवाएको हो कि जस्तो भने लाग्छ । उनको अभिनयशैली नयाँ भने छैन । उनका फ्यान बाहेक अरुले पुरानो पाराको अभिनय भन्न पनि सक्छन् ।


नीति शाह

अभिनेत्री नीति शाहको अभिनय ज्यादै फितलो छ । यद्यपी चलचित्रमा नीति शाहको उल्येख्य भूमिका भेटिन्न । उनको अभिनयशैली पनि मौलिक भने छैन ।
उनले अप्ठ्यारो लाग्ने जसरी संवाद बोलेकी छिन् ।

 

अभिनेता राज कटुवालले विजयविक्रम थापाको सशक्त पात्रलाई बोकेको भए पनि दमदार अभिनय दिन नसकेको अनुभव हुन्छ


राज कटुवाल
अभिनेता राज कटुवालले विजयविक्रम थापाको सशक्त पात्रलाई बोकेको भए पनि दमदार अभिनय दिन नसकेको अनुभव हुन्छ । उनको फितलो अभिनयका कारण चलचित्र हात्ती आयो हात्ती आयो फुस्सा भने झैं भएको छ । यद्यपी उनी पर्दामा सुन्दर देखिएका छन् ।


सनिशा भट्राई
नवअभिनेत्री सनिशा भट्राईको अभिनय पनि साखै चित्तबुझ्दो छैन । सनिशा चलचित्रको पात्र कुसुमको चरित्रमा डुवेको भेटिन्न । उनले चलचित्रको सेटमा फटाफट संवाद पढेकोजस्तो लाग्छ । निर्देशक दिवाकर भट्राईले उनलाई भिन्न शैलीमा प्रस्तुत गराउन सकेको भेटिन्न ।
नयाँ अभिनेत्री भए पनि कलाकार उषा खड्गीको अभिनय औसत राम्रो छ ।
निर शाहको अभिनयशैली फेरिएको छैन । सरोज खनालको सालिन अभिनय यस चलचित्रमा पनि उस्तै छ । खलपात्र प्रशान्त ताम्रकारलाई उस्तै शैलीमा प्रस्तुत गरिएको छ । दिपा शाही र मिचेल घिमिरेलगायतको भूमिका छोटो रहेकाले अभिनय क्षमता देखाउने ठाँउ नै पाएका छैनन् ।

प्रविधि
चलचित्रको सिनेमेट्रोग्राफर राजु थापाले खासै क्यामेरा कमाल देखाएका छैनन् । दृश्यहरुमा प्रकाशको प्रभाव देखिन्न । क्यामेराको फ्रेम र एंगल परम्परागत नै छ ।
साहिल खानकोे सम्पादन पनि उल्येखनीय छैन । कथाको लय मिलाएर दृश्यहरु राखिएको भान हुन्न । एक पछि अर्को दृश्य जोडिए झैं लाग्छ । रिकेस गुरुङले चलचित्रको ठाँउ ठाँउमा झर्कोलाग्दो पार्शसंगीत राखेका छन् । संगीतमा पनि मिठास भेटिन्न । एक्सन जनराको दक्षिण भारतीय चलचित्रको अनुभवन दिलाउन हुनसक्छ दृश्यहरुको रंग ज्यादा रातो बनाइएको छ । जुव स्वभाविक लाग्दैन ।

 

चलचित्र किन हेर्ने ? धेरैको प्रश्न हुनसक्छ । चलचित्र हेरेर फर्कदा के हेरियो ? के बुझियो ? यसैबाट चलचित्रको स्तर बुझिन्छ

चलचित्रको पर्दामा महानायक हमालको उमेर अनुहारले बताइरहेको छ । लत्रेका गालाको मासु र घाँटीको नसा छोप्न मेकअपमा खटिएकी ज्योती केसीले ध्यान दिएको देखिएन । चलचित्रमा कथासँगै बग्ने गीत संगीतको कमी छ । अच्छा लेकिन गीतलाई प्रमोसनका लागि प्रयोग गरिएको छ ।

अन्तमा,
चलचित्र नरसिंहा अवतारले सबै किसिमको दर्शकलाई चित्त बुझाउने पक्कै सक्दैन । चलचित्र किन हेर्ने ? धेरैको प्रश्न हुनसक्छ । चलचित्र हेरेर फर्कदा के हेरियो ? के बुझियो ? यसैबाट चलचित्रको स्तर बुझिन्छ ।
कथाकार दिवाकर भट्टराईले चलचित्र नरसिहाः अवतारमा कुनै नौलो कथा प्रस्तुत गरेका छैनन् । हाम्रो राजनीति, प्रशासन र समाजमा अन्याय र अत्याचारको वास्तविकतालाई काल्पनिक कथामा रुपान्तरण गरिएको छ । उनले धेरै सिनेमेट्रिक लिवर्टीको प्रयोग अवश्य गरेका छन् तर वास्तविकभन्दा टाढा छैनन् । एक्सन, सस्पेन्स र थ्रिलरमा आधारित चलचित्र नरसिंह अवतार पुराना पुस्ताका दर्शकका लागि मिठो चटनी जस्तै छ ।

 

 

 

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।