१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल समाजवादी पार्टी नेकपा माओवादी पार्टीमा समाहित, ५ बुँदे सहमतिपत्र सार्वजनिक



काठमाडौं । गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी समायोजनसम्बन्धी ५ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको छ ।

समझदारीपत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाको तर्फबाट श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार श्रेष्ठलाई केन्द्रीय सचिव बनाइएको छ। नेसपाका अन्य सदस्यहरूलाई पनि संगठनभित्र सम्मानजनक जिम्मेवारी दिइने बताइएको छ।

पाँच बुँदे सहमतिमा के छ ?

मार्गदर्शक सिद्धान्त

समायोजित पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुनेछ। यसैलाई विचारधारात्मक मेरुदण्ड मानिनेछ।

राजनीतिक कार्यक्रम

पार्टीको कार्यक्रम नेपाली विशेषता अनुसारको समाजवादी क्रान्तिको कार्यक्रम हुनेछ। राष्ट्रिय सन्दर्भ र जनभावनालाई आधार बनाएर कार्यक्रम अघि बढाइने उल्लेख छ।

आन्दोलनको स्वरूप

समाजवादी क्रान्तिका लागि सडक, सदन र सरकार सबै क्षेत्रका आन्दोलनको प्रयोग गरिनेछ। तत्कालीन कार्यनीतिक विषयमा भने पार्टीभित्र छलफल र आपसी सहमतिका आधारमा निर्णय गरिने व्यवस्था गरिएको छ।

संगठन सञ्चालनको सिद्धान्त

पार्टीमा विचारको स्वतन्त्रता र कार्यान्वयनमा एकरूपता रहने जनवादी केन्द्रियताका सिद्धान्तलाई मान्यता दिइनेछ। साथै, केही वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्न सकिने व्यवस्था गरिएको छ।

संगठनात्मक समायोजन

गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रीय सचिव बनाइइएको छ भने समायोजन भएका अरुहरूलाई संगठनमा उचित जिम्मेवारीसहित समावेश गरिनेछ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  १ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।