काठमाडौं । बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाको कथावस्तु बोकेको नेपाली फिल्म ‘मोहर’ को टिजर सार्वजनिक भएको छ । निर्देशक ओम प्रतीकको निर्देशनमा बनेको यो फिल्मले देउकी प्रथाको नाममा नाबालिग केटीहरू चढाइने कुप्रथाविरुद्धको सशक्त सन्देश बोकेको देखिन्छ ।
धार्मिक आडम्बरसहित देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने अन्धविश्वासविरुद्ध फिल्मले आवाज उठाएको छ । समाजमा गढिएको यस्तो परम्पराको साङ्लो तोड्न मुख्य पात्रको संघर्ष यसमा प्रस्तुत गरिएको छ ।
टिजरमार्फत फिल्मको कथावस्तु, अभिनय, र प्रस्तुतिको झलक दिइएको छ । अभिनेता पल शाह देउकी कुप्रथाविरुद्ध संघर्षरत पात्रको भूमिकामा देखिएका छन् भने अभिनेत्री बेनिशा हमाल बालिकाकी आमाको संवेदनशील चरित्रमा प्रस्तुत भएकी छन् ।
साथै, निती शाह, अर्जुनजंग शाही र मिस पबि पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मको निर्माण चुम्बनजंग शाहीले गरेका हुन् । सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।
प्रतिक्रिया