काठमाडौँ
महानायक राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन् । सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताएका छन् ।
“केही वर्ष म चलचित्रबाट हराएँ । किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइन्, तर अब वर्षमा एउटा चलचित्रमा काम गर्ने सोच बनाएको छु । म जति समय काम गर्छु, एउटा चलचित्र वर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ।” उनले भने
महानायक हमालले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताएका छन् । “अहिले प्रदर्शनरत चलचित्र ‘नरसिंहा अवतार’ का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा चलचित्रबाट गायव नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ चलचित्रको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन”, महानायक हमालले भने ।
पुस्तकका विषयमा जानकारी दिँदै महानायकले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिएका छन् । महानायकले आठ वर्षपछि अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ यही जेठ ९ गतेदेखि नेपालभर प्रदर्शन भइरहेको छ ।








प्रतिक्रिया