ललितखबर
आजकल जहाँत्यही सहकारीमा समस्या छ । आफूले राखेको पैसा चाहिएको बेला नपाउदा बचतकर्ता समस्यामा छन् । यही नियतीमाथि चलचित्र ‘महाभोज’ निर्माण गरिएको छ । जुन शुक्रबारदेखि देशभरका करिव २ सय पर्दामा प्रर्दशन भइरहेको छ । यस चलचित्रको कथासार व्यावहारिक जीवनको सामान्य लाग्छ । चलचित्र अघि बढ्दै जाँदा थप रोचक बन्दै जान्छ ।
सूर्यप्रसाद ‘आर्यन सिग्देल’ले गाँउमा सहकारी खोलेका छन् । गाँउमै रोजगारी र वित्तीय सुविधा पाएपछि सबै खुशी छन् । यसैबेला गाँउघरमा स्थानीय निर्वाचन आउँछ । गाँउमा चर्चा कमाएका सूर्यप्रसादको महत्वकाँक्षा बढ्छ । उनी गाँउपालिकाको अध्यक्ष बनेर राजनीतिमा आउन चाहन्छन् । सहकर्मी चन्द्रकाजी ‘दयाहाङ राई’लाई सहकारीको साँचो बुझाएर मेयरमा उढ्छन् अनि जित्छन् ।
समयकालसँगै सहकारीमा समस्या आउँछ । शहरमा ऋण लागेकादेखि गाँउका रोगबाट पिडितहरुको हरिविजोक हुन्छ । सहकारी समस्या र समाधानको एउटा रोचक र घोचक कथामा बनेको चलचित्रको पुरा दृश्य शुक्रबार प्रर्दशनरत चलचित्र भवनमा हेर्न पाइन्छ । लेखक विकाश सुवेदीले कथालाई पर्दामा सलल बगाएका छन् । चलचित्रमा बोरलाग्ने दृश्य थोरै छन् ।
सुन्दर पक्ष
चलचित्रले समयको आवाज बोलेको छ । आम नेपालीले दैनिक भोगिरहेको समस्या देखाएको छ । चलचित्रमार्फत राजनीतिले समाजमा पर्ने प्रभाव देखाएको छ । आम नेपालीको चरित्र प्रवृतीलाई जस्ताको तस्तै देखाएको छ ।
चलचित्रले समस्या मात्रै देखाएको छैन, पिडितहरुको घाउमा मह्लम लगाउन पात्रहरु अघि बढाएको छ । समस्यासँगै समाधान पनि खोजेको छ । लेखक विकाश सुवेदीले कथालाई सलल बगाउदै चलचित्रलाई तार्किक निश्कर्षमा पर्याएका छन् । दर्शकमा थुप्रै आक्रोस र रोमाञ्चक मोडहरु चलचित्रमा देखिन्छ । जुन हेर्दा मज्जा आउँछ ।
पछिल्लो समय गाँउगाँउमा सिंहदरवारसँगै शुष्म ढंगले त्यहाँको फोहोरी राजनीति पनि पुगेको छनक चलचित्रले दिन्छ । स्थानीय स्तरमा हुने तिकडम र जालसाँजीलाई निर्देशक दिनेश राउतले मिहिन ढंगले केलाएर देखाएका छन् ।
सिंहदरवारमा विकृत गाँउ पसेपछि गाँउघरमा विरलै देखिने आन्दोलन र प्रर्दशनको दृश्यले आजको पुस्तालाई सहकारी समस्याको सिधा बाटो देखाउन मद्दत गरेको छ । सहकारीको पैसा लुट मच्चाएर एउटा तप महाभोज गरिरहेको र जनता टुलुटुल’ हेर्न बाध्य भएको विषयलाई निर्देशक राउतले सटिक ढंगले प्रस्तुत गर्न सफल छन् ।
चलचित्र महाभोजले आफ्नै माटो, परिवेश र समयको कथा सरल ढंगले भनेको छ । यो नै चलचित्रको सुन्दर पक्ष हो । दर्शकलाई चलचित्र हेरेपछि पैसा खर्च गरेकोमा पछुतो लाग्दैन ।
कमजोरी
जहाँत्यही राजनीति र सरकारीको गठजोड देखेका र भोगेका आम नेपालीलाई चलचित्रको कथा पुरानो लाग्न सक्छ । वाक्क दिक्क राजनीतिले थिलथिलो परेको सहकारीको कथामा धेरै दर्शकलाई रुचि जाग्ने किसिमको छैन ।
चलचित्रका लेखक तथा निर्देशकले राजनीतिक विषयबस्तुमाथि केही सावधानी अपनाएको भए पनि राजनीतिक रुपमा व्याख्या गर्ने ठाँउसम्म पुगेको भान हुन्छ । जुन दर्शकले चलचित्र हेरेपछि ठम्याउन कठीन हुँदैन । यसले सकारात्मक सन्देस भने दिएको छैन ।
मध्यान्तरअघि चलचित्र अलि सुस्त गतिमा अघि बढेको छ । चलचित्रका धेरै कुरा ट्रेलरमै खुलासा गरेको कारण चलचित्रमा धेरै मज्जा नआउन सक्छ । ट्रेलर काट्न जान्ने प्राविधिकको कमी छ भन्ने बुझ्न कठीन हुन्न ।
चलचित्रको शिर्षक ‘महाभोज’ नाम साँकेतिक रुपमा मात्रै प्रयोग भएको छ । चलचित्र हेरिरहँदा नाम अनुसारको भएन कि भन्ने लागिरहन्छ । चलचित्रले मनोरञ्जनभन्दा ज्यादा घोचेको अनुभव हुन्छ ।
चन्द्रकाजी ‘दयाहाङ राई’
अभिनेता दयाहाङ राईले फरक र भिन्न चरित्रलाई चलचित्रमा डोहोर्याएका छन् । गाँउघरतिर भेटिने झोला बोकेर स्प्लेण्डर मोटरसाइकलमा हुइकिने केटोको सामान्य पात्रलाई दयाहाङ राईले दुरुस्त उतारेका छन् । चलचित्रमा दयाको भिन्न अभिनय हेर्नलायक छ ।
आर्यन सिग्देल ‘सूर्यप्रसाद’
समाजको धुर्त नेताको भूमिकामा रहेका आर्यन सिग्देलले आफू हिरो होइन कलाकार भएर चलचित्रमा उभिएका छन् । सामान्य हिरोको रुपमा चलचित्रमा देखिएका उनले खलपात्रको रफ्तारलाई मन्द गतिमा हुँइक्याएका छन् । पुरानो र सुस्त अभिनयशैलीका कारण ठाँउ ठाँउमा बोर लाग्दो परिस्थिती उव्जिएको छ । संवाद बाचनमा कही कही समस्या देखिन्छ ।
अञ्जना बराइली ‘शान्ति’
मध्यम बर्गीय परिवारकी बुहारी ‘शान्ति’ पात्रको चरित्रमा आफूलाई भरसक राम्रैसँग उतार्न अञ्जनाको मेहनत राम्रो छ । सासूलाई पर्याप्त मानसम्मान दिन नसक्नेदेखि श्रीमानसँग किचकिच गर्ने घरघरको कहानीमा उनको अभिनय दुरुस्त छ । तर कतिपय ठाँउमा अञ्जनाले अरु चलचित्रभन्दा फरक अभिनय शैली देखाउन नसकेको भान हुन्छ । कचकचे श्रीमती, सासूलाई काममा दलाउने बुहारी चरित्रले आजको समाजको तस्विर प्रष्ट पारेको छ ।
मलिका महत ‘ममता’
एसईई पास गरेपछि गाँउ गाँउ डुलेर सहकारीको पैसा उठाउने फुच्ची केटीको भूमिकामा अभिनेत्री मलिका महतलाई खुब सुवाएको छ ।
खगेन्द्र लामिछाने‘ विश्व कोइराला’
एउटा शहरिया केटो गाँउ पसेपछि देखिने फुर्तिफार्तीलाई अभिनेता खगेन्द्र लामिछानेले विश्व कोइरालाको चरित्रमार्फत राम्रो ढंगले देखाएका छन् ।
चलचित्रमा माइली बज्यैैको पात्रमा छोटो तर मिठो अभिनय बसुन्धरा भुसाललाई देखिन्छ । प्रहरी निरिक्षक विजय मल्लको पात्रमार्फत जालझेलको राजनीतिमा विनोद न्यौपाने फिट छन् । हर कुरामा श्रीमान्लाई सहयोग र समर्थन गर्ने गौमायाले चरित्रमाथि न्याय गरिरहेको छिन् । रैथाने भेषभुसा र चरित्रमार्फत देशभक्त खनालले सहकारी पिडितको अनुहार उस्तै पार्न सफल छन् ।
दिनेश राउतले चलचित्रको निर्देशकीय पक्ष बलियो बनाएर प्रस्तुत गरेका छन् । यद्यपी कथाको आवश्यकत्ताले नमागेको कारण पनि हुन सक्छ कलात्मक पक्ष चाँही बलियो छैन ।
समाजमा तल्लो तप्काको कथा दृश्यमार्फत मिठो ढंगले भन्न खप्पिस निर्देशक दिनेश राउतको खुबी चलचित्र महाभोगमा देखिन्छ । समाजभित्रका साना तर गम्भिर विषयबस्तुलाई टपक्क टिपेर आम मान्छेको मन र मुटुभित्र भुकम्प ल्याउन जान्ने निर्देशक राउतको अघिल्लो चलचित्र प्रकाश र पुजार सार्कीभन्दा केही भिन्न लाग्छ । तर दृश्यमार्फत कलात्मक कथा भन्ने शैली भने उस्तै छ । कथालाई भिजुअल प्रस्तुतीको हिसावमा भन्नु पर्दा निर्देशक राउतको पुजार सार्की र प्रकाशभन्दा केही कमजोर पक्कै लाग्छ ।
एक्सन,हरर,लभस्टोरी चलचित्र हेर्न बानी परेका दर्शकलाई यो चलचित्र टेलिचलचित्र जस्तो लाग्नसक्छ । शहरिया जीवनशैली भोग्ने बानी परेको आजका पुस्तालाई कथा सामान्य र सरल भएकै कारण मन नपर्न सक्छ । थ्रिलर, एक्सन, लभस्टोरी, कमेडी र सेन्टीमेन्टल चलचित्रमा डुव्ने दर्शकहरले चलचित्र राम्रो भएन भन्ने पर्याप्त ठाँउ भेटिन्छ ।
चलचित्रमा गीत संगीतको प्रभाव देखिन्न । फाइट छैन । तर, सामाजिक कथाको चलचित्र मन पराउने दर्शकका लागि यो चलचित्र पक्कै मन पर्नेछ ।
प्रविधि
चलचित्रमा प्रविधिको उत्तम प्रयोगका कारण दर्शकलाई प्रभाव पार्ने ठाँउ भेटिन्न । चलचित्रको पटकथा बलियो छ । जसका कारण दर्शकको ध्यान तान्न सफल छ ।
सिनेमेट्रोग्राफर राजेश श्रेष्ठले ठिकठाक क्यामेरा चलाएका छन् । निमेष श्रेष्ठको सम्पादनमा आयोचना गर्ने ठाँउ छैन, न त प्रशंसा गर्ने अवस्था छ । संगीत र द्वन्द्वको प्रभाव छैन । उत्तम नेपालीको ध्वनीले चलचित्र राम्रो बनाउन सहयोग गरेको छ । सुप्रिम पराजुलीको रंग संयोजनमा गल्ती भेटिदैन, न त उत्कृष्ट छ भन्ने ठाँउ नै छ । सैलेश श्रेष्ठको पार्श संगीतले दृश्यहरुमा राम्रो प्रभाव पारेको छ । चलचित्रभित्र समिर मियाले भिएफएक्स कहाँनिर प्रयोग गरे त्यो भेटिन्न । सिनेम्याट्रिक लिवर्टीको प्रयोग नगन्य छ ।
अन्तमा,
चलचित्र महाभोज नेपाली समाजको एउटा कालखण्डको नमिठो भगाईको दस्तावेज बनाउने कोसिस गरिएको छ । पछिल्लो पुस्तामा परेको राजनीति, सामाजिक र अर्थिक प्रभावलाई कथाकार विकाश सुवेदीले शुष्म ढंगले केलाएर प्रस्तुत गरेका छन् भने निर्देशक राउतले सरल ढंगबाट दृश्यमा उतारेका छन् ।
राजनीतिकरण भइरहेको विषयबस्तुमाथि निर्देशक राउतले चलचित्र निर्माण गर्नु अर्को हिम्मत जुटाएका हुन् । चलचित्रमा हाम्रै वरपरका आममान्छेको जीवन र भोगाई समेटिएको महाभोज सामान्य चलचित्र हेरे झैं लाग्छ ।
प्रतिक्रिया