काठमाडौं । ‘हल्का रमाइलो’ कार्यक्रमबाट घर–घरमा लोकप्रिय बनेका माग्ने बुढा अर्थात् केदार घिमिरे अब फिल्म ‘माग्ने राजा’मार्फत हलमा दर्शक हसाउन आउने भएका छन् । सोमबार सार्वजनिक गरिएको टिजरले फिल्म ‘माग्ने राजा’मा केदार घिमिरेको केन्द्रीय भूमिका देखाउँदै हलको पर्दामा पनि उनले ‘पूरा रमाइलो’ गराउने संकेत गरेको छ ।
पोस्टरमार्फत नै भिन्न अवतारमा देखिएका केदार घिमिरे टिजरमा पनि माग्ने पात्रको नयाँ रूप र संवादमा प्रस्तुत भएका छन् । पौने दुई मिनेटको टिजर हास्य दृश्य र रोचक संवादले भरिएको छ ।
टेलिभिजनको चर्चित जोडी माग्ने बुढा (केदार घिमिरे) र तक्मे बुढा (विल्सन विक्रम राई) यो फिल्ममा भान्जा–मामा बनेर देखिनेछन् । टिजरमा उनीहरुको केमिस्ट्री पुरानै जोशमा देखिएको छ ।
टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि देखिए तापनि उनीहरूको भूमिकाबारे धेरै खुलाइएको छैन । पहिलो पटक मुख्य भूमिकामा देखिएका केदार घिमिरेलाई निर्देशक ऋषि लामिछानेले नयाँ ढंगले प्रस्तुत गरेका छन् । सामीप्यराज तिमल्सिनाले लेखेको कथालाई सुजिल कर्माचार्यले संगीत दिएका छन् भने नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा बनेको फिल्म मुनाल घिमिरेको प्रस्तुति र मधुसुदन शर्माको निर्माणमा तयार भएको हो । ‘माग्ने राजा’ आगामी भदौ ६ गते नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने तयारीमा छ । आरआर फिल्म्सले वितरण गर्दैछ ।








प्रतिक्रिया