काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारले पटक–पटक समय मागेपछि संसदीय समितिले पाँच दिनको अल्टिमेटम दिएको छ।
आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र विवादित विषयमा सहमति जुटाएर समितिमा पेश गर्न निर्देशन दिएका हुन्।
सभापति थापाले सरकारको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दै भने, “सरकारले संसदीय समिति र सांसदहरुलाई खेलौना बनाएको छ।” बैठकमा मन्त्री पन्तले शिक्षक महासंघसँगको वार्ता अझै जारी रहेको र सहमति जुटाउन समय आवश्यक परेको भन्दै थप समयको माग गरेका थिए।
तर समितिका अधिकांश सांसदले पटक–पटक समय लिँदा विधेयक अल्झिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। थापाले अगामी दिनमा समितिको विचार नटेर्ने प्रवृत्ति दोहोरिए गम्भीर असर पर्न सक्ने चेतावनी पनि दिए।
मन्त्री पन्तले शिक्षक महासंघसँग आषाढ १६ गतेदेखि छलफल र सहमतिको प्रक्रिया जारी रहेको जानकारी गराएका थिए।
शिक्षकहरूको बढुवा, नियुक्ति प्रक्रिया र अन्य व्यवस्थालाई लिएर विधेयकमा सहमति नजुट्दा संसदमा पारित प्रक्रिया अवरुद्ध हुँदै आएको छ।








प्रतिक्रिया