५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘चलचित्र कन्फरेन्स’मा कलाकारले सुनाए आफ्ना अनुभव



हामी विद्यार्थीलाई हरेक पक्षबाट जानकार बनाउन चाहन्छौँ, त्यसैले हामीले किताबसँगै अतिरिक्त गतिविधि गरेर ज्ञान दिइरहेका छौँ । यसले विद्यार्थीको क्षमता बढाउन मदत गर्छ
काठमाडौँ
‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आट्र्स’ अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको आयोजनामा आजदेखि नेपाल पर्यटन बोर्डको सभाहलमा दुई दिने ‘चलचित्र कन्फरेन्स’ सुरू भएको छ ।
कला अध्ययनरत र चलचित्रमा भविष्य खोजिरहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कन्फरेन्सले सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै चलचित्रका विषयमा जानकारी दिने कलाकार बसुन्धरा भुसालले बताएकी छिन् ।
“हामीले सिक्नेभन्दा पनि आफ्नो अनुभव र मेहनतले कलाकारितालाई अगाडि बढायौँ । अहिलेका नयाँ पुस्ताले चलचित्रसम्बन्धी अध्ययनसँगै यस्ता कार्यक्रममार्फत अन्तरक्रियाको अवसर पाउने गरेका छन् । यसले आगामी यात्रा तय गर्नसहज हुन्छ ।” अभिनेत्री भुसालले भनेकी छिन् ।
उनले विसं २०२१ मा ‘आमा’ चलचित्रमा छायाङ्कन गर्दाको समयदेखि पछिल्लो चलचित्र ‘महाभोज’ सम्मको अनुभव विद्यार्थीलाई सुनाइन् । अभिनेता हरिहर शर्माले निरन्तरता र मेहनतले असल कलाकार वा चलचित्रकर्मी बनाउनेमा जोड दिएका छन् । उक्त कार्यक्रममा ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आट्र्स’ अन्तर्गतका भाषा तथा आमसञ्चार विभाग प्रमुख निर्मलमणि अधिकारीले विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त ज्ञान प्रदान गर्न यस्ता कार्यक्रम गरिएको बताएका छन् ।
“हामी विद्यार्थीलाई हरेक पक्षबाट जानकार बनाउन चाहन्छौँ, त्यसैले हामीले किताबसँगै अतिरिक्त गतिविधि गरेर ज्ञान दिइरहेका छौँ । यसले विद्यार्थीको क्षमता बढाउन मदत गर्छ”, उनले भनेका छन् ।
दुईदिने चलचित्र कन्फरेन्सलाई नेपाल चलचित्र समीक्षक समाज, नेपाल चलचित्र निर्देशक समाज, काठमाडौँ पर्वतीय चलचित्र महोत्सव फाउण्डेशनसँगको सहकार्यमा आयोजना गरिएको हो ।
सोमबारसम्म सञ्चालन हुने उक्त कन्फरेन्समा पहिलो दिन ‘सवारी साहित्य’ नामक छोटो चलचित्र प्रदर्शन गर्नुका साथै ‘फेस्टिभल फिल्म्स भर्सेस डोमेस्टिक मार्केट’ नामक अन्तरक्रियामा निर्देशक सुवर्ण थापा, समीक्षक तथा निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, निर्माता तथा वितरक विनोद पौडेलले आफ्नो धारणा राखेका थिए ।
दोस्रो सत्र ‘द भिजुअल ल्याङगवेज अफ नेपाली सिनेमा ः स्ट्रेन्थ एण्ड लिमिटेशन’ शीर्षकमा निर्देशक सुयोग गुरुङ, निर्देशक जनकदीप पराजुली, निर्देशक रेनाशा वान्तवा राई, निर्देशक ज्ञानेन्द्र देउजाले छलफल गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।