८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


म्याग्दीमा पहिरोले म्याग्दी नदी थुनियो, तटीय बस्तीमा सतर्कता अपनाउन आग्रह(भिडियोसहित)



काठमाडौं । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनेको छ। पहिरोका कारण नदीमा पानी थुप्रिँदा तलाउ बनेको र त्यसबाट संभावित जोखिम बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

धौलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार निरन्तर पहिरो खसिरहेको र नदी पूरै थुनिएर तलाउ बनेको जानकारी दिइएको छ। पहिरो गाउँपालिका–४ र ७ को सिमानामा पर्ने काउसीबोटको भिरमुनि खसेको हो।

बिहानको भारी वर्षापछि म्याग्दी नदीको बहाव उच्च भए पनि पहिरोले नदी थुनिएपछि पानीको सतह घटेको स्थानीय बासिन्दा तम पुनले बताएका छन्। घटनास्थलमा निरीक्षणका लागि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष पुनमगरसहित जनप्रतिनिधि र प्रहरी टोली पठाइएको छ।

अध्यक्ष पुनका अनुसार तलाउ एकैचोटि फुट्ने हो भने नदी किनारका बस्तीमा बाढी तथा कटानको ठूलो जोखिम हुन सक्छ। यस कारण प्रशासन कार्यालयमार्फत सतर्कता जारी गरिएको छ।

जोखिममा रहेका म्याग्दी नदी तटीय क्षेत्रका बस्तीहरूमा छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार पर्छन्। म्याग्दी नदीको मुहान धौलागिरि हिमालमा रहेको छ भने नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।