काठमाडौँ
अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छिन् । हालै आयोजित अन्तक्र्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताएकी छिन् ।
“म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गरेर त्यही शिक्षा लिएँ । तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।” अभिनेत्री मगरले भनिन् ।

बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरेपछि निर्देशक, छायाँकार र कलाकारसँग सिक्ने अवसर पाएको मगरले बताइन् । पछिल्लो समय चलचित्रको छायाङ्कनस्थलमा चलचित्र अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विभागमा भेटिएता पनि अध्ययन र वास्तविक काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव रहेको अभिनेत्री मगरको बुझाइ छ ।
“अध्यन गरेर आएका अहिले छायाङ्कनस्थलमा धेरै भेटिनुहुन्छ । तर, मगरहहरूको अध्ययनको सिकाइ र हामीले काम गर्ने शैली भिन्न हुँदा कतिपय अवस्थामा सहजता नभएको महसुस गरेकी छु । त्यसकारण शिक्षा लिइसकेपछि काम गर्नु अगाडि बुझ्ने मौका पाउनुपर्छ जस्तो मलाई लाग्छ”, अभिनेत्री मगरले भनिन् ।
चलचित्रका विभिन्न विधाको अध्ययन गरिरहेका विद्यार्थीले छायाङ्कनस्थलमा पुगेर त्यसलाई प्रत्यक्ष हेरेर बुझ्ने वातारण बन्नुपर्नेमा अभिनेत्री मगरले जोड दिइन् । उनले आफूले पर्दामा निर्वाह गर्ने पात्रले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गरेको बताइन् ।
“मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ । यद्यपि म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन । सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुनसक्छ”, अभिनेत्री मगरले भनिन् ।
‘लालपूर्जा’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री मगरले अभिनय गरेको ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्र नेपालमा व्यावसायिक रूपमा सफल भएका छन् ।








प्रतिक्रिया