चलचित्र ‘मोहर’को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल देशका विभिन्न भूभागमा प्रस्थान गरेका छन् ।
चलचित्रको प्रचारका क्रममा पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका हुन् । उनीहरुले यहाँ दर्शकसँग चलचित्रको बिषयमा साक्षात्कार गरेका छन् ।
चलचित्रका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, चलचित्रका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताए । कार्यक्रममा पलले फ्यानहरुसँग साक्षात्कार पनि गरे । पलले भने–‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिदैन ।’
चलचित्रको टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरुसँग पनि साक्षात्कार गरेको थियो ।
पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिए । उनीहरुले, ‘मोहर’को प्रतिक्षा व्यग्र रुपमा गरिरहेको बताएका थिए ।
देउकी प्रथामा आधारित रहेर तयार पारिएको यो चलचित्रमा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
यो चलचित्रले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रको टिजर र दुई गीतलाई दर्शकले मन पराइसकेका छन् । केही दिनमै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । फिल्म मेकर्स प्रा.लिको व्यानरमा यो चलचित्र निर्माण भएको हो ।
चलचित्र ‘मोहर’ यही साउनको २३ गतेबाट देशभर प्रर्दशनमा आउन लागेको छ ।








प्रतिक्रिया