काठमाडौं । अभिनेता नाजिर हुसेनले आफ्नो इन्स्टाग्रामबाट सबै पोस्ट हटाएका छन्। करिब २०० जति पोस्ट हटाउँदै उनले सामाजिक सञ्जालमा एकाएक नयाँ संकेत दिएका हुन्। हाल उनका इन्स्टाग्राममा कुनै पनि पुराना पोस्ट छैनन्, जसले उनका फ्यान र अनुयायीहरूबीच अनेक प्रश्न जन्माएका छन् – नाजिरले किन यस्तो गरे? के नयाँ परियोजनाको तयारी हो?
यो रहस्य अब खुलिसकेको छ। अभिनेता हुसेनले इन्स्टाग्रामबाट सबै सामग्री हटाउनुको कारण उनको आउँदै गरेको नयाँ चलचित्र ‘गुन्यो चोलो – कमिङ अफ एज अफ अ गर्ल’ हो। नाजिरले स्पष्ट पारेका छन् कि उनले यो फिल्मलाई पूर्ण रूपमा समर्पित हुने उद्देश्यले इन्स्टाग्रामका पुराना सबै पोस्टहरू अहिलेलाई आर्काइभ गरेका हुन्।
“तीन वर्षको तयारीपछि बल्ल हाम्रो चलचित्र दर्शकमाझ ल्याउन आट्दैछौँ,” नाजिर भन्छन्, “म यो फिल्मसँग यति भावनात्मक रुपमा जोडिएको छु कि केही समयका लागि म ‘गुन्यो चोलो’ बाहेक अरु केही राख्न चाहन्न।”
उनले जोड दिए, यो निर्देशक वा निर्माताको दबाब नभइ, पूर्ण रूपमा आफ्नो व्यक्तिगत प्रोमोशनल स्टाइल हो। नाजिरले यो चलचित्रका लागि दुई महिना अन्य कुनै पनि प्रोजेक्ट लिएका छैनन्। चलचित्रको प्रचारप्रसारमा उनी एकाग्र छन्।
समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यो चोलो’ अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा एक ट्रान्सवुमनको यात्रालाई केन्द्रीय विषय बनाएर तयार गरिएको छ। नाजिर हुसेनले फिल्ममा ट्रान्सवुमनको गहिरो, संवेदनशील र चुनौतीपूर्ण भूमिका निभाएका छन्।
यसमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ, विशाल पहारी लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र नाजिर हुसेन आफैंले तयार पारेका हुन्।
चलचित्रको प्रदर्शन मिति साउन १ गते औपचारिक रूपमा सार्वजनिक हुँदैछ। चलचित्रलाई लिएर नाजिरको समर्पण र आत्मीयता सामाजिक सञ्जालमै देखिन थालेको छ, जुन फिल्मप्रति कलाकारको लगावको राम्रो उदाहरण पनि हो।








प्रतिक्रिया