काठमाडौं । आज साउन १ गते साउने संक्रान्ति मनाइँदैछ, जसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यस दिनलाई सौर मासअनुसार वर्षको पर्वको सुरुआतका रूपमा लिइन्छ। देशभरका मानिसहरूले स्नान, दान तथा आफन्तसँग रमाइलो गरी यस पावन पर्वलाई मनाउने चलन छ।
सूर्यले मिथुन राशिको भोग गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्ति भनिन्छ। साउन १ गतेबाट सूर्य दक्षिणायन हुँदै जान्छ भने माघ १ गते उत्तरायण हुने विश्वासका कारण यी दुई दिनलाई विशेष पर्वका रूपमा मनाउने परम्परा छ।
नेपाली समाजमा ‘माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ’ भन्ने प्रचलित उक्ति रहेको छ। यस दिन विशेष गरी लुतो फाल्ने र विविध परम्परागत क्रियाकलाप गरिन्छ। आफ्ना कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने, अगुल्टो फाल्ने लगायतका चलन पनि रहिआएको छ।
साउन महिनालाई भगवान् शिवको पूजा गर्ने महिनाका रूपमा मानिन्छ। यसै क्रममा महिलाहरूले हरियो चुरा, हरियो वस्त्र र मेहन्दी लगाएर प्रकृतिसँग निकटता प्रकट गर्ने चलन छ। साउन महिनामा हरियो कपडा र चुराको बिक्री बढ्ने गर्दछ।
यसरी साउने संक्रान्ति सूर्यको दक्षिणायनको आरम्भको रुपमा धार्मिक, सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण पर्व हो।









प्रतिक्रिया