२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वर्षाले उपत्यकामा  शित्तल महसुस, चार ठाउँमा भारी वर्षा



काठमाडौँ
केही समययता गर्मी महसुस गरिरहेको काठमाडौँ उपत्यकालगायत केही जिल्ल्लामा आज साँझ परेको वर्षाले शीतल हुँदा केही राहत महसुस भएको छ । काठमाडौँ उपत्यकामा आज मध्यम वर्षा भएको छ ।
पछिल्लो ६ घण्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । तराईलगायत क्षेत्र सुक्खा हुँदा यसपटक खण्डीकृत वर्षा भइरहेको छ । रसुवालगायत क्षेत्रमा ठूलो क्षति हुने गरी बाढी आउँदा तराईलगायतका विभिन्न जिल्ला सुक्खा बनिरहेका बेला आज पनि केही क्षेत्रमा भने भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पछिल्लो ६ घण्टामा मात्रै एक ठाउँमा अति भारी र चार ठाउँमा भारी वर्षा भएको छ । सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा भएको छ । त्यहाँको गोब्रे वर्षा मापन केन्द्रमा ११७ मिलीमिटर वर्षा भएको हो ।
यस्तै सिन्धुपाल्चोककै तारके घ्याङमा ५३।४ मिलीमिटर पानी परेको छ । यस्तै मकवानपुरको मार्खुमा ५२।२ मिलीमिटर, मकवानपुरकै सिलिङेमा ६५।४ मिलीमिटर, डोटीको झिङरानमा ५८।४ मिलीमिटर पानी परेको छ ।
विभागका अनुसार ५० देखि १ सय मिलीमिटर वर्षालाई भारी वर्षाका रुपमा चिनिन्छ । विभागका सूचना अधिकारी दिनाकर कायस्थले मनसुन कमजोर रहेको र राम्ररी सक्रिय हुन नसकिरहेको बताएका छन् ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै छ । आउँदो २४ घण्टामा पनि क्षणिक वर्षा हुने भएकाले गर्मी यथावत नै रहने जनाइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, शनिबार  १२ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।