२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘मर्निङ वाक’मा हात्तीसंग जम्काभेटपछि आक्रमण, दुई महिला घाइते



झापा
‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका दुई महिलालाई जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका छन् ।

घाइते हुनेमा दमक –१ ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीसँग उनीहरुको आज बिहान जम्काभेट भएको थियो ।
उनीहरुलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ । उनीहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ ।

घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो । झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रैथाने हात्ती बस्दै आएका छन् । जङ्गल छेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् । निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र मर्निङ वाकमा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ ।

एक वर्षमा छ जनाको मृत्यु

आर्थिक वर्ष २०८१र८२ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा छ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट सात जना मानिस घाइते भएका थिए भने चारवटा हात्ती मृत भेटिएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ८ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।