काठमाडौं
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मर्मत कार्यका कारण अस्थायी रूपमा विद्युत् आपूर्ति रोकिएको बताए । तर, यसलाई लोडसेडिङ भनेर गलत ढंगले व्याख्या गरिएको उनको भनाइ छ ।
शाक्यका अनुसार चितवनस्थित सबस्टेशनको स्तरोन्नति गर्नुपर्ने भएकाले पुरानो कन्डक्टर फेर्ने काम भइरहेको छ । “पुरानो कन्डक्टरले बढ्दो लोड धान्न नसकेपछि नयाँ कन्डक्टर जडान गर्नुपरेको हो,” उनले भने, “यो क्षमतावृद्धि कार्यका कारण आइतबार र सोमबार अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गरिएको हो ।”
उनले विद्युत् क्षमतावृद्धिका क्रममा पुरानो नेटवर्कले लोड धान्न नसक्दा समस्या देखिएको र त्यसलाई कतिपयले लोडसेडिङ भनेर गलत व्याख्या गरेको उल्लेख गरे ।
शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठन गरिएको प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिन गरिएको जानकारी पनि दिए । उनले समितिको निर्णयपछि बक्यौता असुल गरिने र असुल नभएमा लाइन काटिने चेतावनीसमेत दिए ।








प्रतिक्रिया