२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री ऋचा शर्मालाई भद्दा ‘राजावादी’को गालीगलैजापछि कानुनी कारबाहीको चेतावनी



काठमाडौं

अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमार्फत भइरहेको अभद्र व्यवहारप्रति कडा आपत्ति जनाएकी छन्। आफूलाई ‘राजावादी’ र ‘कट्टर हिन्दू’का रूपमा चिनाउने कञ्चनपुरका फउजी शाही नामक व्यक्तिले सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेपछि ऋचाले त्यसलाई सार्वजनिक गर्दै कानुनी कारबाहीको चेतावनी दिएकी हुन्।

शाहीले पोस्ट गरेको एक भिडियो रिलमा ऋचाको तस्वीर प्रयोग गरी उनको नयाँ चलचित्र ‘बलिदान’ बहिष्कार गर्न आह्वान गरिएको थियो। भिडियोमा “राजाको अपमान गर्ने असुरक्षाको गुणगान गाउने यही…” भन्दै ऋचामाथि व्यक्तिगत आक्षेप लगाइएको छ।

यसको स्क्रिनसट साझा गर्दै ऋचाले सामाजिक सञ्जालमा लेखेकी छन्,
“मेरो कामलाई लिएर जस्तोसुकै प्रतिक्रिया दिन सक्नुहुन्छ, मेरो सिनेमा बहिष्कार गर्न पनि सक्नुहुन्छ। तर, मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर गालीगलौज गर्नु आपराधिक हो।”
उनले उक्त पोस्ट तत्काल हटाउन चेतावनी दिँदै अन्यथा कानुनी प्रक्रिया अघि बढाउने बताएकी छन्।

यो घटनाले केही समयअघिको अर्को विवादलाई पनि पुनः ताजा बनाएको छ। अभिनेत्री सुरक्षा पन्तले पूर्वयुवराज पारस शाह र हृदयेन्द्र शाहबारे दिएको अभिव्यक्तिपछि राजावादीहरूको आक्रोश खेप्नु परेको थियो। त्यतिबेला ऋचाले सामाजिक सञ्जालमार्फत सुरक्षाको पक्षमा आवाज उठाएकी थिइन्। त्यसपछि ऋचामाथि पनि नियोजित रूपमा गालीगलौज सुरु भएको हो।

ऋचाले यसअघि पनि सामाजिक सञ्जालमा गाली गर्नेहरूको स्क्रिनसट पोस्ट गर्दै एक्सपोज गर्ने अभियान चलाएकी थिइन्। पछिल्लो समय गायिका एलिना चौहान र समीक्षा अधिकारीले पनि यस्तै प्रतिक्रिया जनाएका छन्। तथापि भर्चुअल दुर्व्यवहार र गालीगलौजको क्रम रोकिएको छैन, जसले सामाजिक सञ्जालमा कलाकारहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

कला र अभिव्यक्तिलाई स्वच्छ आलोचनाको दायरामा राख्नुपर्ने माग कलाकार समुदायबाट उठिरहेको बेला ऋचाको यो कदमप्रति धेरैले समर्थन जनाएका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।