२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘रेलको बाटो’ फिल्म बन्ने, कर्णाली क्षेत्रको यथार्थ प्रस्तुत गरिने



काठमाडौं । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौगोलिक यथार्थलाई आधार बनाएर ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ । कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् ।

फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्य समावेश गरिएको छ, जसले राज्यको उपेक्षा र जनताको पीडालाई संकेत गरेको छ ।

निर्देशक सुनारका अनुसार फिल्मले नागरिकको संघर्ष, दाम्पत्य सम्बन्ध र राजनीतिक अवस्थालाई कथाको मूल विषय बनाउनेछ । कर्णालीको सडक, स्वास्थ्य सेवा, विकास योजनामा हुने हस्तक्षेप र शक्ति केन्द्रबाट हुने बेवास्तालाई फिल्मको मुख्य विषय बनाइनेछ ।

फिल्मको छायांकन निशाल पौडेलले गर्नेछन् भने संगीत सुरज पण्डितको रहनेछ । कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् । फिल्मको वितरण अधिकार काफिया फिल्म्सले लिएको छ ।

‘रेलको बाटो’ फिल्मको छायांकन कर्णालीका विभिन्न जिल्लामा यो वर्षको अन्त्यतिर हुने र २०८३ सालमा प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ । फिल्म हाल प्रि-प्रोडक्सन चरणमा रहेको छ ।

यसअघि सार्वजनिक ‘रेलको बाटो’ गीतको म्युजिक भिडियोले राम्रो चर्चा पाएको थियो । अब सोही नाममा बन्ने फिल्मले कर्णाली क्षेत्रका नागरिकको पीडा र आशालाई पर्दामा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, बिहिबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।