काठमाडौं । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’को प्रमुख जिम्मेवारी लिएर कलाकार राजु पौडेल (राजु मास्टर) पुनः फर्किएका छन्। उनी आगामी साताबाट प्रसारण हुने नयाँ एपिसोडमा लेखन, निर्देशन र अभिनयको जिम्मेवारीसमेत सम्हाल्नेछन्।
मिडिया हवको प्रस्तुतीमा १९ वर्षदेखि प्रसारित हुँदै आएको ‘मेरी बास्सै’बाटै राजुले आफ्नो कलाकारिता यात्रा सुरु गरेका थिए। उनले सुरुका १२ वर्ष निरन्तर अभिनय गरेपछि ६ वर्ष अन्य टेलिसिरियलमा काम गरेका थिए। अब पुनः आफ्नै घरजस्तो लाग्ने कार्यक्रममा फर्किन पाउँदा खुशी र जिम्मेवारीको महसुस भएको उनले बताए।
उनका अनुसार, ९२३औं भागदेखि नयाँ कथासहित सिरियल अगाडि बढ्नेछ। हाल चार भागको छायांकन भइसकेको छ, जसको लोकेसन धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी भदुवारमा रहेको छ। यसपटक राजु मास्टरले आफ्नो परिवारसहित फर्किनेछन्। मास्टर्नीको भूमिकामा अनिता बस्नेत र सालीको भूमिकामा सबिना आचार्य (सबु) रहनेछन्।
यसका साथै, सिरियलमा रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतका कलाकार देखिनेछन्।
राजु मास्टरले ‘मेरी बास्सै’ छाडेपछि मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)सँग ‘हल्का रमाइलो’ र ‘जुठे’मा सहकार्य गरेका थिए। तर, पछि कुरा नमिलेपछि उनीहरु अलग भएका छन्। अहिले बल्छी धुर्वे यी दुवै सिरियल एक्लैले गर्दै छन् भने राजु मास्टर ‘सकस’ र ‘मेरी बास्सै’मा ध्यान केन्द्रित गर्नेछन्।
‘मेरी बास्सै’को छायांकन घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेलले गर्नेछन्। सम्पादनमा रवीन्द्र भट्ट र अशोक चौधरी रहनेछन् भने व्यवस्थापन उज्जवल खड्काले गर्नेछन्। यो टेलिसिरियल प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ।








प्रतिक्रिया