२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीभित्रको विवादका बाबजुद प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बहादुरसिंह लामा नेतृत्वको सरकार विस्थापित गरेर साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले मंगलबार प्रदेशसभाको बैठकमा ६३ मत प्राप्त गरेर विश्वासको मत पाए।

प्रदेशसभामा कुल ११० सदस्य रहेकोमा विश्वासको मतका लागि ५६ मत आवश्यक थियो। कांग्रेसका ३७ र एमालेका २७ सांसद हुँदा कुल ९२ सांसद बैठकमा उपस्थित थिए। कांग्रेसका एक सांसद विदेश भ्रमणमा रहेका कारण अनुपस्थित थिए। कांग्रेस र एमाले संसदीय दलले विश्वासको मतमा ह्वीप जारी गरी मतदानमा सहभागी भएका थिए।

विपक्षी दलहरू माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीले विरोधमा मतदान गरेका थिए। पार्टीभित्रको विवादका कारण कांग्रेसका १४ सांसदले शुरूमै विपक्षमा मतदान गर्ने बताए पनि केन्द्रीय नेतृत्वको दबाबपछि उनीहरू बैठक समयमा प्रदेशसभाको नयाँ भवनमा प्रवेश गरी बानियाँको पक्षमा मतदान गरे। यसले प्रदेशसभाको बैठक करिब एक घण्टा ढिलो सुरु हुन पुगेको थियो।

बागमती प्रदेशमा १४ मन्त्रालय रहेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित ८ मन्त्रालय पाएको छ भने एमालेले ६ मन्त्रालय पाएको छ। एमालेले सबै ६ मन्त्री पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्रै पठाएको छ। कांग्रेसबाट मन्त्री हुनेमा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र शिवराज अधिकारी रहेका छन्। दुवै मन्त्री मुख्यमन्त्री बानियाँसँग निकटतम हुन्।

प्रकाशित मिति : २८ श्रावण २०८२, मंगलबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।