काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूलाई देशका वास्तविक मुद्दाबाट ध्यान भड्काएर संसदलाई झुठा कथा सिर्जना गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाएको आरोप लगाएका छन्।
संसद् सम्बोधनको क्रममा ओलीले भने, “देश र जनताको हितमा केन्द्रित हुनुपर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने प्रयास भइरहेको छ। यसबाट युवाहरूलाई गाली, निन्दा र भत्र्सनामा भुलाएर समाजलाई उत्तेजनामा ल्याउने नियत देखिन्छ।”
प्रधानमन्त्रीले सहकारी प्रकरणमा अदालतले सयौं व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएको अवस्थामा पनि एक व्यक्तिमाथि मात्र ‘राजनीतिक प्रतिशोध’ को भाष्य निर्माण गरिएकोमा आपत्ति जनाए। उनले भने, “भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले जवाफ माग्नेछ। यस्तो व्यवहार अचम्मको मात्र होइन, दयालाग्दो पनि छ।”
ओलीले वर्तमान सरकारले बलियो संसदीय गणितको आधारमा काम गरिरहेको उल्लेख गर्दै, “यसलाई कमजोर पार्न ‘आजै ढल्छ, भोलि नै ढल्छ’ भनेर हल्ला फैलाइएको छ। अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अघि बढ्छ।”
संसद्मा आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी दिँदै उनले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागिता, पूर्वाधार अभाव, उच्च पारवहन लागत र जलवायु परिवर्तनजस्ता समस्याबारे विश्वको ध्यानाकर्षण गराएको बताए।
ओलीले द्विपक्षीय भेटवार्तामा तुर्कमेनिस्तानका राष्ट्रपति, किर्गिजस्तानका प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भएको छलफलले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन मद्दत पुगेको विश्वास व्यक्त गरे।
साथै प्रधानमन्त्रीले सरकारको एक वर्षको उपलब्धि प्रस्तुत गर्दै दैलेखमा ११२ अर्ब घनमिटर ग्यास फेला परेको, नवलपरासीको धौवादीमा फलाम खानी उत्खनन सुरु भएको, र हुम्लाको सिमीकोट सडक सञ्जालमा जोडिएको जस्ता कामलाई प्राथमिकताको उदाहरणको रूपमा प्रस्तुत गरे।








प्रतिक्रिया