काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीका वरिष्ठ कार्डियाक सर्जन तथा कार्डियोभास्कुलर विभाग प्रमुख डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार अमेरिकाबाट सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो राजीनामा सार्वजनिक गरेका हुन्।
डा. कोइरालाले २८ साउन २०८२ मा कार्यकारी निर्देशकलाई पठाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले विभागीय प्रमुख र वरिष्ठ सर्जन पदमा निरन्तरता दिन नसक्ने उल्लेख गरेका छन्। उनले ३० असोज २०८२ देखि लागू हुने गरी आफ्नो राजीनामा स्वीकृत गर्न अनुरोध गरेका छन्।
पत्रमा डा. कोइरालाले भनेका छन्, “सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।”
डा. कोइरालाले केन्द्रमा कार्यरत नरहे पनि यसको प्रगति तथा अन्य अधिकारी र शुभेच्छुकहरूको योगदानबाट ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’ले देशलाई गौरवान्वित गर्नेमा आफू विश्वस्त रहेको बताए। साथै, उनले केन्द्रका लागि सल्लाह–सुझाव दिन सधैं उपलब्ध रहने प्रतिबद्धता जनाएका छन्।
सन् २५ वर्ष सेवा गरेको स्मरण गर्दै उनले केन्द्रमा बिताएको समय र प्राप्त सद्भाव सधैं सम्झनामा रहने उल्लेख गरेका छन्।
डा. कोइरालाले आफ्नो ‘एक्स’ पोस्टमा भावुक अभिव्यक्तिसमेत व्यक्त गर्दै भनेका छन् – “र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्ने मेरा घरकालाई सलाम।”








प्रतिक्रिया