काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सामाजिक सञ्जाल सम्बन्धी विधेयक आलोचकलाई दबाउने उद्देश्यले नल्याइएको स्पष्ट पारेका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा विधेयक सम्बन्धी सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले मुलुकमा डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्न विधेयक ल्याइएको बताए। उनले भने, “डिजिटल प्लेटफर्महरूको प्रभाव हाम्रो मुलुकमा धेरै छ। हामीले तीन पटक मेटालाई नेपालमा दर्ता हुन आग्रह गरेका छौँ, तर उनीहरूले कानुन र संविधान मान्ने नमाने। यसैले सामाजिक सञ्जाल नियमनका लागि विधेयक आवश्यक छ।”
उनले सामाजिक सञ्जालमार्फत अशान्ति फैलाउने वा राष्ट्रविरोधी गतिविधि हुने सामग्री नियन्त्रण गर्न विधेयक ल्याइएको उल्लेख गर्दै प्रतिपक्षीलाई भने, “सरकारका आलोचक, विरोधी तथा व्यवस्था विरोधीहरूको मुख थुन्न विधेयक होइन। यो प्लेटफर्महरूलाई कानूनी दायरामा ल्याउने र प्रयोग सुरक्षित बनाउने उद्देश्यले ल्याइएको हो।”
मन्त्री गुरुङले विधेयकले सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउने र देशको लोकतान्त्रिक संरचना कमजोर नहुने दावी गरेका छन्।








प्रतिक्रिया