२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘जनै हराएको मान्छे’को प्रिमियरमा सहभागीहरुको आँखामा आँशु



काठमाडौं
मंगलबार साँझ राजधानीको बानेश्वरस्थित एक सिनेमा भवनमा चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर आयोजना गरिएको थियो ।

चलचित्र हेरिरहेका सहभागीहरु धुरुधुरु रोइरहेका थिए ।

चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् । केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका देखिन्थे ।
सिनेमाले आफूहरूलाई जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रिमियरमा चलचित्र हेर्नेहरूको प्रतिक्रिया छ । धेरै जना आँसु पुछ्दै हलबाट बाहिरिएको देखिन्थ्यो । उनीहरूले चलचित्रले मन छोएको र आफ्नै परिवारको याद दिलाएको प्रतिक्रिया दिए ।
बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया छ ।

प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

भोलि शुक्रबारबाट देशभर प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।