भक्तपुर
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज साँझबाट भक्तपुरमा भव्य रूपमा जात्रा मनाइएको छ ।
इन्द्रजात्राका दिन आज साँझ स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खटजात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्रदह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाएका छन् ।
सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याएपछि आज रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज भक्तपुरको साँझ भक्तपुरका विभिन्न क्षेत्रमा देवतालाई घुमाएर सिद्धपोखरी पुर्याएपछि हजारौँको भीडले रातभर जात्रा गरी आइतबार पूर्णिमाको दिनभर मेला लाग्छ ।
दिनभरको मेला सकिएपछि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्रजात्रा सम्पन्न हुने परम्परा छ ।
नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएको भनाइ संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिएका छन् । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास रहेकाले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको बताउछन् । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाइएको छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिनापानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनास्वरुप पनि इन्द्रदहमा मेला लाग्ने गरेको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन् । राजतन्त्रको पराजय र जनताको विजयका रूपमा यो जात्रा मनाइने गरेको उनी बताउछन् ।
–––








प्रतिक्रिया