काठमाडौं
वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले ‘बलिदान’ हेरेर फर्कने क्रममा ‘फरक स्तरको चलचित्र’ भन्दै प्रशंसा गरेका छन् ।
सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ । नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो।” लामाले भने “हामीले अभिनय गर्दा देखेको सपना अहिलेका सन्तोष सेनहरूले साकार पार्दैछन्।”
समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए। “बिराज बिराज नै हो, समीर समीर नै हो। बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो हो,” लामाले भने।
यसैबीच, चलचित्रकी अभिनेत्री ऋचा शर्माले पनि दर्शकको माया पाउँदा आफू निकै भाव विह्वल भएको बताइन् । “मेरा भूमिकासँग धेरै आमाहरू भावनात्मक रूपमा जोडिनुभयो, त्यो मेरो लागि खुसीको कुरा हो,” ऋचाले भनिन्।
सन्तोष सेन निर्देशित ‘बलिदान’ बडादसैँको अवसरमा फूलपातीबाट प्रदर्शनमा आएको हो। हाल दोस्रो हप्तामा पनि देशभर करिब १ सय ३० शोका साथ प्रदर्शन भइरहेकाले चलचित्रले पहिलो सातामै राम्रो व्यापारिक सफलता हात पारेको वितरकहरूले जनाएका छन्।
अभिनेता समीर भट्टको दमदार एक्सन र अभिनयको प्रशंसा गर्दै दर्शकहरूले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरिरहेका छन्। आमा–छोराबीचको प्रेम र त्यागमा आधारित कथाले दर्शकको हृदय छोएको बताइएको छ।
‘आशुसेन फिल्म प्रोडक्सन’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।








प्रतिक्रिया