२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भेपमा सुन तस्करी प्रकरण: पूर्वसभामुख महरा पक्राउ



काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले महरालाई भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा सीआईबीले पक्राउ गरेको छ । यसअघि बिहीबार मात्रै महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर बयान दिएका थिए ।

चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका उनलाई अन्तरिम सरकारले फेरि अनुसन्धानमा तानेको हो । अख्तियारमा बयान दिएर आएको तीन दिनपछि नै महरा सीआईबीको हिरासतमा पुगेका हुन् ।

सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले महरालाई उक्त मुद्दाको फाइल अदालतमा लैजानै प्रयोजनका लागि पक्राउ गरिएको बताए। महरालाई सुरूमा सीआईबीको टोलीले कार्यालयमा हाजिर भइदिन भन्दै फोन गरेको थियो । तर महरा नगएपछि सीआईबीको टोली उनलाई लिन निवासमै पुगेको थियो ।

यसअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा पक्राउ परेका उनलाई बिरामी भएको बहानामा हाजिरी जमानीमा छाडिएको थियो । त्यसबेला प्रधानमन्त्री पनि माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । महरामाथि तीनवर्षअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको प्रकरणमा अख्तियारले अनुसन्धान गरेको थियो।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ मै अनुसन्धानमा तानिएका थिए । तर माओवादीका उपाध्यक्ष उनी सत्ता र शक्तिको भरमा बाहिरै थिए । प्रचण्ड निरन्तर सत्तामा रहेपछि उनी मनमौजी जीन्दगी बाँचिरहेका छन् । उनी दुई पटक महरा प्रहरी अनुसन्धानमा तानिएका भए पनि शक्तिले काम गरेको हो ।

उनीविरुद्ध पहिलो पटक मुद्दा चलाइएको थिएन । दोस्रो पटक २०८० चैत ५ मा रवि लामिछाने गृहमन्त्री हुँदा कपिलवस्तुबाट समातिएका थिए । पक्राउलगत्तै उनलाई काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरो ल्याएर अनुसन्धान अघि बढाइएको थियो । तर ५ दिनपछि चैत ९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महरालाई हाजिरी जमानीमा छाडेको थियो ।

महरामाथि विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप छ । यस प्रकरणमा तस्कर समूहसँग सम्बन्ध देखिएको उनका छोरा राहुल पनि अनुसन्धानमा तानिएका छन् ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका नाइके चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।