२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रमसहित मनाइँदै



काठमाडौं । नेपाल संवत् ११४६ आज देशभर विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी उत्साहपूर्वक मनाइँदैछ। नेवार समुदायले यो संवत्लाई नयाँ वर्षका रूपमा हर्षोल्लासपूर्वक मनाउने परम्परा कायम राख्दै आएको छ।

नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी यस मौलिक संवत्को सुरुवात गरेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल संवत् लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको हो र पृथ्वीनारायण शाहको शासनकालसम्म यो राष्ट्रिय संवत्का रूपमा प्रयोगमा थियो।

डा. मानन्धरका भनाइमा, “लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो। नेपाल संवत् भने देशकै नामबाट राखिएको मौलिक संवत् हो, जसले नेपालको सांस्कृतिक पहिचान बोकेको छ।”

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउनका लागि विसं २००७ मा प्रजातन्त्र स्थापनापछि निरन्तर अभियान चलिँदै आएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत क्षेत्रमा नेवार समुदायले विशेष शोभायात्रा, देवीदेवताका पूजाआजा, सांस्कृतिक झाँकी र परम्परागत नाचगानसहित नयाँ वर्षको स्वागत गरिरहेका छन्।

गरिब जनताको ऋणमोचन गरेर सामाजिक सेवाको उच्च उदाहरण प्रस्तुत गरेका शंखधर साख्वाको योगदानको कदरस्वरूप २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

त्यसैगरी, विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

परम्पराअनुसार कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने चलन अझै काठमाडौं उपत्यकामा जीवित छ, जसले आर्थिक र सांस्कृतिक नयाँ वर्षको प्रतीकात्मक अर्थ बोकेको छ।

नेपाल संवत् केवल नेवार समुदायको पर्व मात्र नभई सम्पूर्ण नेपालीहरूको मौलिक सभ्यता, इतिहास र एकताको प्रतीकका रूपमा आज देशभर सम्मानपूर्वक मनाइँदैछ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बुधबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।