काठमाडौँ
गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ बेहुली झैँ सिँगारेर आकर्षक बनाइएको छ । नदी दायाँबायाँ बेलुकीको उज्यालोले मनमोहक दृश्य देखिन्छ ।
यही दृश्यकाबीच लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरिरहेका छन् । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएर रातभर छठी माताको आराधना गरेर जागरण बसिरहेका भक्तजनमा उत्साह छ । बिहान स्नानगरी निर्जल उपवास बसेका श्रद्धालुले निष्ठाका साथ सूर्यदेव, छठी माता र वाग्मती नदीको पूजा आराधना गरिरहेका छन् ।
श्री छठ पूजा समिति, गुह्येश्वरी, गौरीघाटले भक्तजनलाई यो अवसर दिएको हो । यस वर्ष छ सय छठघाट निर्माण गरिएको समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिएका छन् । उनका अनुसार प्रतिछठघाटको रु एक हजार ५०० लिएर भक्तजनलाई उपलब्ध गराइएको छ । पैतीस वटा छठघाट भने निःशुल्क भक्तजनलाई दिइएको बताएका छन् ।
शुल्क तिर्न नसक्ने तर विधिपूर्वक छठी माता, सूर्यदेव र वाग्मती नदीको पूजा आराधना गर्न चाहनेका लागि समितिले यस्तो सेवा दिएको अध्यक्ष सिंहले बताए । छठ व्रत गर्न चाहने तर पूजा सामग्री किन्न नसक्ने श्रद्धालु भक्तजनका लागि आवश्यक सामग्रीको व्यवस्था पनि गरिएको उनको भनाइ छ ।
विसं २०६२ मा समिति दर्ता भएर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पूजा गर्ने वातावरण बनेको थियो । “समिति दर्ता भएकाबेला वर्षमा ३० देखि ४० वटा छठघाटमा पूजा, आराधना गर्ने गरी भक्तजन जम्मा हुने गर्दथे । त्यसबेला बढीमा दुई सयदेखि तीन सय श्रद्धालु भक्तजन मात्र यहाँको छठ मेलामा जम्मा हुने गरेकामा यस वर्ष पाँच लाख भक्तजन यहाँ आउनुभएको छ”, उनले भने ।
यस वर्ष गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको गुह्येश्वरी गौरीघाट क्षेत्रमा छठ मनाउन आइपुगेका नेपाल टेलिकमको मोबाइल सहजीकरण भ्यानका प्राविधिकले जानकारी दिएका समितिले जनाएको छ । मानिसको घुइँचो भएर मोबाइल नेकवर्कले काम नगर्ने भएपछि टेलिकमले उक्त क्षेत्रमा सहजीकरण भ्यानको सहायताले सहज रूपमा सञ्चार सम्पर्क गर्ने वातावरण बनाएको थियो ।
छठ पूजामा २१ प्रतिशत पहाडी मूलका भक्तजन
सुरुआती दिनमा गुह्येश्वरी गौरीघाटको छठ पूजामा एक प्रतिशत पनि पहाडी मूलका मानिस सहभागी नहुने अवस्था थियो । यस वर्ष २१ प्रतिशत पहाडी मूलका मानिसले छठघाटका लागि स्थान सुरक्षित गरेर विधिपूर्वक पूजा आराधना गरिरहेका छन् ।
बीस वर्षअघिसम्म गौरीघाट गुह्येश्वरी क्षेत्रमा छठ मनाउने मानिस फाट्टफुट्टमात्र हुने गरेका आध्यत्मिक मासिक पत्रिका ‘गौरीका’ का सम्पादक अर्जुन लामिछानेले बताए । छठको चार दिने अवधिमा नदीमा मानिसले सफा गरे झैँ ३६५ दिनमा यसरी नै सरसफाइ हुनुपर्नेमा उनले जोड दिनुभयो । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई कुनै पर्व विशेषमा मात्र नभई सधैँ सफा राखिनुपर्ने धैरै भक्तजनको माग छ ।
राजधानीको सभ्यताको स्रोत वाग्मती नदीलाई ‘डम्पिङ साइट’ नबनाउन छठ पूजा समितिले पनि आह्वान गरिसकेको छ । बेलायतस्थित लण्डनको किनारमा रहको थेम्स नदीको बहाव पहिले र अहिले उस्तै छ । वाग्मती नदीको बहाव भने कहिले बढ्ने कहिले घट्ने भइरहेको छ । वाग्मती नदीको स्वच्छता पनि पहिलेभन्दा सुधारिँदै जानुपर्नेमा जोड दिइएको छ ।
श्रद्धालु भक्तजनलाई शौचालयको सास्ती
यहाँ आउने भक्तजनलाई शौचालयको भने असुविधा रहेको भक्तजन नरेन्द्रदेव महताराले गुनासो गरेका छन् । गुह्येश्वरी मन्दिर भएकोतिर पशुपति क्षेत्र विकास कोष र अर्कोतिर काठमाडौँ महानगरपालिका–८ ले शौचालय बनाएको जनाउँदै उहाँले तिनले लाखौँ भक्तजनलाई धान्न नसकेको बतोए ।
छठ पूजा समितिले ती शौचालय निःशुल्क भक्तजनलाई प्रयोग गर्न दिन शुल्क तिरेको जनाएको छ । समितिले शुल्क तिरेर भक्तजनलाई निःशुल्क प्रयोग गर्ने गरी शौचालयको व्यवस्था गरे पनि भक्तजनले भने शुल्क तिर्नुपरेको भक्तजन प्रवेश गुप्ताले बताएका छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा यस वर्ष गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थान पनि सजाइएको छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको घुइँचो लागेको हो । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।
यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिएको छ ।
लाखौँ भक्तजन उपस्थित हुने मेलाका लागि निजी क्षेत्रको सेक्युरिटी कम्पनीसहित नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई पनि गुह्येश्वरी गौरीघाट क्षेत्रमा खटाइएको छठ पूजा समितिका अध्यक्ष सिंहले . जानकारी दिएका छन्।
उहाँका अनुसार आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका बर्तालु मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।
छठ व्रत गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एकवर्षे अज्ञातबास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहिआएको छ ।








प्रतिक्रिया