नीर शाहको मुख्य भूमिका रहेकोे भावनात्मक पारिवारिक कथानक चलचित्र ’परान’ले विहीबार साँझ राजधानीमा गरिएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
चलचित्र ‘परान’ आजबाट देशभर प्रर्दशनमा सुरु भएको छ प्रिमियरमा सहभागी कलाकार,पत्रकार र शुभेच्छुकहरु चलचित्र हेरिसकेपछि भावुक देखिएका थिए
वरिष्ठ अभिनेता हरिवंश आचार्यले ’परान’ले देखाएको कथा हरेक गाउँको समस्या भएको बताए । निर्देशक दिपक आचार्यको डेब्यु चलचित्र उत्कृष्ट रहेको उनको भनाई थियो ।
प्रदर्शनरत ’जेरी अनटप’का निर्देशक सुयोग गुरुङले चलचित्र हेरिरहँदा आँखा झिमिक्क नभएको र आफ्नो पनि आँशु खसेको बताए । प्रिमियरमा सहभागीहरुले निर्माताद्धय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिएको देख्न सकिन्थ्यो ।
चलचित्रले एक बाबुको कथा भन्छ, जसले आफ्ना सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन्। यसै अन्तरद्वन्द्वलाई चलचित्रले भावनात्मक रूपमा चित्रण गरेको छ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।
त्यस्तै, चलचित्रका गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्।
छायांकन (डिओपी) शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्। फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाईं हुन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।








प्रतिक्रिया