२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकाका मेयरहरुले प्रधानमन्त्री कार्कीसँग सुनाए गुनासै गुनासो



काठमाडौँ

उपत्यकाका मेयरहरुले प्रधानमन्त्री कार्कीसँग विकास निर्माणसम्बन्धि दर्जनौं गुनासो सुनाउदै हारगुहार गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका ‘मेयर’हरूसँग छलफल गरेकी छिन् । उपत्यका मेयर्स फोरम सम्बद्ध मेयरहरु सहभागी सो छलफलमा प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग मागेकी थिइन् ।

छलफलमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सडक बत्तीको बक्यौता रकम धेरै वर्षयता राफसाफ नभएको उल्लेख गर्दै ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत सङ्घीय सरकारले तिर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका मेयरले नेपाल ट्रस्टको जग्गामा सडक बिस्तारका लागि पहल गर्न अनुरोध गरे । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखा–छहरे सडक चौडाइका लागि स्थानीयलाई मुआब्जा दिने निर्णय गर्न गैरदलीय सरकारले ऐतिहासिक कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिहरूद्वारा गरिएको लुटपाटमा कडा कारबाही गर्नुपर्ने माग गरे । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले सल्लाघारी–कमलविनायक–नगरकोट सडक वर्षौंदेखि अधुरै रहेकाले छिटो सम्पन्न गरिदिन माग गरे ।

‘जेनजी’ प्रदर्शनपछि उत्पन्न सुरक्षा अवस्थाबारे पनि धेरै मेयरले ध्यानाकर्षण गराउँदै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजता मिलाइदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताइन् । “एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ । अर्कोतिर तपाईंहरूले उठाएको समस्या समाधानमा लाग्नुपर्ने माग छ । यसमा के–कति गर्न सकिन्छ, हेरौँला । समाधान तपाईं–हामी मिलेरै गर्ने हो ।”
भेटका क्रममा फोहर व्यवस्थापन, सडक बत्तीको बक्यौता, सुरक्षा चुनौती र विकास निर्माणका अवरोधलगायत स्थानीय तहलाई परेका विभिन्न समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको र सरकारले यसबारे ‘बोल्ड’ निर्णय गर्नुपर्ने धारणासमेत राखेका प्रधानमन्त्रीको सचिवाललयले जनाएको छ ।

भावी पुस्ताका लागि देशलाई बस्नलायक बनाउनु सबैको साझा दायित्व भएको बताउँदै प्रधानमन्त्री कार्कीले वर्षौंदेखिको एकलौटी शासनप्रति युवामा देखिएको असन्तुष्टि आत्मपरीक्षणको विषय भएको धारणा राखिन् । नयाँ पुस्ताको सोचअनुसार अघि बढ्नुपर्ने र प्रविधिसँगै हुर्किएको पुस्ताको अपेक्षा बुझ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।