२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा ढुङ्गा विछ्याउने योजनाको अनुगमन : वातावरणीय पक्ष समावेश गर्न उपप्रमुख डंगोलको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सुनिता डंगोलले पूर्वाधार योजनाको डिजाइन, ड्रइङ् र लागत अनुमानको क्रममा वातावरण तथा सामाजिक पक्षलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएकी छन्।

उपनगरका जमल–कमलाछी–असन, भोटाहिटी–असन, असन–बालकुमारी–मच्छिन्द्रबहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा विछ्याउने योजनाको अनुगमन गर्ने क्रममा उनले पानी पुनःभरण (Water Recharge) प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताइन्।

उनले भनिन्,“सडक आफैँले पानी पुनःभरण गर्न नसक्ने अवस्था भए वाटर रिचार्ज पीट राखेर भए पनि पानी जमिनमा फर्काउनुपर्छ। साथै यस क्षेत्रमा पहिलेदेखि भएका पूर्वाधार, स्थानीय सामाजिक आवश्यकता र समुदायको अपेक्षा बुझेर मात्र योजना दिगो हुन्छ।”

सडकमा पानी निकासबारे चासो

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले योजनाको तर्जुमा र कार्यान्वयन प्रक्रियाबारे जानकारी माग्दै सतहको पानी कसरी बग्छ, सडकमा पानी जमेर पैदल यात्री वा व्यवसायमा असर त पर्छ–पर्दैन भन्ने प्रश्न उठाए।

ढुङ्गा विछ्याउने यो सडकमा पानी पुनःभरण प्रणाली लागू गर्न १ सय मिटर क्षेत्रमा करिब १ महिना परीक्षण गरिएको थियो। तर सवारी धुलो–धमाधम चल्ने सडकमा यो प्रविधि टिकाउ नहुने निष्कर्ष आएपछि योजना संशोधन गरिएको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले जानकारी दिए।

योजनाको विवरण

सडक लम्बाइ: करिब ९ सय मिटर

चौडाइ: न्यूनतम ४.५ फिटदेखि अधिकतम १२ फिट

ढुङ्गाको आकार: १२ इञ्च लम्बाइ, ८ इञ्च चौडाइ, ४ इञ्च मोटाइ

लागत अनुमान: ४ करोड ४२ लाख ८३ हजार

कबोल रकम: ३ करोड ५१ लाख १४ हजार (आइएस निर्माण सेवा)

कार्यादेश: २०८१ असार २४

सम्पन्न गर्ने लक्ष्य: २०८२ असोज मसान्त

अवधि बढ्नुको कारण: पानी पुनःभरण परीक्षण र योजना संशोधन

अनुगमनमा सामान्य त्रुटि भेटियो

योजना मूल्याङ्कन तथा अनुगमन एकाइका उपनिर्देशक गंगाधर गौत्तमका अनुसार केही सामान्य त्रुटि फेला परेका छन्, जसका लागि निर्माण पक्षलाई चाँडै पत्राचार गरिनेछ। अनुगमनमा वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, वातावरण तथा विपद् व्यवस्थापन टोली र स्थानीय बासिन्दाको समेत सहभागिता थियो।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  २ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।