२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


राजेश हमाल अभिनीत ‘प्रवासी जीवन’ फागुन १५ देखि प्रदर्शन हुने



काठमाडौं । नेपालका सुप्रसिद्ध अभिनेता राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ। संयुक्त राज्य अमेरिका पुगेका नेपालीको सङ्घर्ष र त्यहाँको प्रवासी जीवनको कथा बोकेको यस फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका हुन्।

निर्देशक श्याम क्षेत्रीका अनुसार, फिल्मले प्रवासीहरूको सुख–दुःख, आरोह–अवरोह र मानसिक चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएको छ। “प्रवासमा पुग्ने जो कोहिले यस कथामा आफू वा आफ्नो वरपरको दृश्य पाउनु हुनेछ। हामीले भौतिक दुःख मात्र होइन, मानसिक यातनालाई समेत फिल्ममा देखाएका छौँ,” उनले बताए।

फिल्ममा राजेश हमालसँगै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यमा निर्माण गरिएको फिल्म अमेरिकाको रमणीय स्थानमा छायाङ्कन गरिएको हो। निर्माता रविन आचार्यका अनुसार, फिल्मको विषयवस्तुले नै कलाकारलाई आकर्षित गरेको छ। उनले थपे, “यो फिल्मले प्रवासी जीवनसँग जोडिएको मानसिक स्वास्थ्यको समस्या र त्यसपछिको उज्यालो जीवनलाई पनि देखाउँछ, जसले प्रेरणा दिन्छ।”

फिल्मको छायाङ्कन अमृत बिसुवाले, सम्पादन राम अधिकारीले, सङ्गीत नवीन कार्कीले तयार गरेका हुन् भने वितरण आरआर फिल्म्सले गर्नेछ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  १ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।