१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पदाधिकारी नपाएपछि यी चार नेताले छाडे ओली समूह



काठमाडौं । आफूहरूले आकांक्षा राखेको पदाधिकारी पद नपाएपछि नेकपा एमालेभित्र आन्तरिक असन्तुष्टि खुला रूपमा सतहमा आएको छ। अध्यक्ष केपी शर्मा ओलीको साथ छाड्दै चार नेताले अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानल रोजेका छन्।

ओली समूहबाट अलग भएका नेताहरूमा निवर्तमान ओली सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा रहेका छन्। पदाधिकारी सूचीमा समेटिन नसकेपछि उनीहरूले ओलीसँगको दूरी बढाएको एमाले स्रोतले जनाएको छ।

यस्तै, ओली समूहमा महासचिव पदका दाबेदार प्रदीप ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता नगरी घर फर्किएको एमाले नेताहरूले बताएका छन्। यसले ओली समूहभित्र असन्तुष्टि अझै बढाएको संकेत गरेको छ।

अध्यक्ष ओलीले पदाधिकारीमा नराखेपछि रघुजी पन्त अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा थिए। उनले औपचारिक रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

ओली समूहबाट सचिव पदमा उम्मेदवारी दिने चाहना राखेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्वतन्त्र उम्मेदवारका रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्।

लामो समय अध्यक्ष ओलीका निकट रहेका नेता कृष्णगोपाल श्रेष्ठले आफूलाई अपमान र अन्याय गरिएको गुनासो गर्दै पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन्। यसअघि नै ओलीका निकट सहयोगी गोकुल बास्कोटाले ओली समूह छोडिसकेका थिए। उनले पनि पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्। यससँगै नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष भिडन्त हुने पक्का भइसकेको छ।

प्रकाशित मिति : ३० मंसिर २०८२, सोमबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।