काठमाडौं । कलाकार दिपकराज गिरीले नेपाली राजनीतिक यथार्थबारे टिप्पणी गर्दै सिधासाधा जनताले राजनीति बुझ्न जरुरी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले द्वन्द्वकालमा सबैभन्दा धेरै कांग्रेसका कार्यकर्ताहरू मारिएको भए पनि पछिल्लो समय कांग्रेसले आफ्ना कार्यकर्तालाई माओवादीलाई भोट हाल्न लगाएको उल्लेख गरेका छन्।
गिरीले २०४६ सालपछि गाउँ–गाउँमा कांग्रेस र एमालेका नाममा जनता आपसमा लड्दै आएको र त्यसक्रममा धेरैले ज्यान गुमाउनुपरेको स्मरण गराएका छन्। तर केन्द्रमा भने यी दलहरूले आलोपालो गर्दै मिलेरै सरकार चलाइरहेको उनको टिप्पणी छ। उनले आगामी चुनावपछि पनि यी दलहरू फेरि मिल्न सक्ने सम्भावना औंल्याएका छन्।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत अन्ततः एमालेसँग मिलेर सरकारमा पुगेको उदाहरण दिँदै गिरीले ‘यही हो राजनीति’ भनेका छन्।
उनले सिधासाधा जनताले नेताहरू वा पार्टीको पुच्छर समातेर गालीगलौज र झगडामा अल्झिरहनु नहुने उल्लेख गर्दै आफूले परिवर्तनकारी ठानेको नेता वा पार्टीलाई भोट हाल्न सुझाव दिएका छन्। त्यसपछि आ–आफ्नो काम गरेर शान्तिपूर्वक बाँच्नुपर्ने उनको सन्देश छ।







प्रतिक्रिया