काठमाडौँ
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएसँगै उपमेयर सुनिता डङ्गोल कार्यवाहक मेयर बनेकी छिन् । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगरका मेयर शाहले राजीनामा दिएसँगै उनी कार्यवाहक मेयर बनेकी हुन् ।
मेयर शाहले आज उपप्रमुख डङ्गोल समक्ष पेस गरेको राजनीनामा पत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्थाबमोजिम, म काठमाडौँ महानगरपालिकाको मेयर पदबाट माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेस गर्दछु ।’
संविधानमा नगर कार्यपालिका प्रमुख÷उपप्रमुखबारे व्यवस्था गरिएको छ भने नेपालको संविधान २०७२ को धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । मेयरले उप मेयरसमक्ष र उप मेयरले मेयरसमक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा र मृत्यु भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।
शाहले पदबाट राजीनामा दिएपछि सुनिता डङ्गोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आज नगर कार्यपालिका बैठक आह्वान गरी मेयर शाहले पदबाट राजीनामा दिएको जानकारी गराएको थियो । बैठकमा कार्यवाहक मेयर डङ्गोलले मेयर शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगायतका क्षेत्रमा गरेको कामको उनले धन्यवाद व्यक्त गरेकी छिन् ।








प्रतिक्रिया