काठमाडौं । नायिका रेखा थापाले निर्वाचनमा महिला मतदाताको संख्या उल्लेख्य हुँदाहुँदै पनि महिला उम्मेदवारको उपस्थिति अत्यन्त न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले कुल मतदातामध्ये महिला करिब ८९ लाख र पुरुष करिब ९२ लाख रहेको तथ्य उल्लेख गरेकी छन्। मतदाताको संख्यामा महिला–पुरुष झण्डै बराबर भए पनि उम्मेदवारको संख्यामा ठूलो खाडल देखिनु लोकतान्त्रिक अभ्यासकै कमजोरी भएको उनको टिप्पणी छ।
“जबसम्म दिदीबहिनी जाग्दैनन् र भोटर मात्र बन्दैनन्, तबसम्म देश बन्दैन, देश कहिल्यै हाँस्दैन,” भन्दै थापाले महिलाहरूलाई सचेत, जिम्मेवार र सक्रिय राजनीतिक सहभागितामा आउन आग्रह गरेकी छिन्।
उनले निर्वाचनप्रति सजग रहनुपर्नेमा जोड दिँदै सचेत मतदान र नेतृत्व चयनमा महिलाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएकी छिन्। थापाको यो अभिव्यक्तिले महिला प्रतिनिधित्व, नेतृत्व विकास तथा निर्णय तहमा महिलाको उपस्थितिबारे बहसलाई पुनः सतहमा ल्याएको छ।
उल्लेखनीय छ, रेखा थापा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाको तर्फबाट उम्मेदवार बनेकी थिइन्। यद्यपि, उक्त निर्वाचनमा उनी विजयी हुन सकिनन्।
थापाको पछिल्लो धारणा आगामी निर्वाचनमा महिलाको राजनीतिक सहभागिता र नेतृत्वमा पहुँच बढाउन दबाब सिर्जना गर्ने संकेतका रूपमा हेरिएको छ।








प्रतिक्रिया