३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र निर्माणमा होमिएका गायक रामकृष्ण ढकालको चलचित्र ’मालती मंगले’ वैशाख २५ मा प्रर्दशन



 

काठमाडौं

नेपाली संगीत क्षेत्रका स्थापित गायकहरु हम्मेसी चलचित्र क्षेत्रमा होमिएको पाइदैन । गीत संगीतमा रमाउने गायक गायिकाहरु च्लचित्रका लागि गीत त गाँउछन् तर अभिनय र निर्माणको क्षेत्रमा हात हाल्दैनन् ।

चर्चित गायक रामकृष्ण ढकाल भने चलचित्र क्षेत्रमा निरन्तर पाइला अघि बढाइरहेका छन् । उनले चलचित्र आर्शिवादमा शिर्ष भूमिकामा अभिनय गरेको केही समयपछि निर्माणतर्फ अघि बढेको छन् । उनको निर्माणमा बनेको नेपाली कथानक चलचित्र ’मालती मंगले’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । साथै निर्माण पक्षले चलचित्र आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) देखि नेपालभर प्रदर्शन गर्ने भएको छ ।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो।

सार्वजनिक पोस्टरले चलचित्रका मुख्य पात्र विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ। विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्। विजय बस्यालले डिजाइन गरेको पोस्टरको पृष्ठभूमि र पात्रहरूको हुलियाले चलचित्रले एउटा अग्र्यानिक र माटोको सुगन्ध बोकेको ग्रामीण प्रेमकथा वा सामाजिक परिवेशलाई उठान गरेको आभास दिन्छ।

चलचित्रका निर्देशक प्रकु पाण्डेयले यसलाई एक विशुद्ध नेपाली पारिवारिक प्रेमकथाको रूपमा व्याख्या गरेका छन्। उनले भने, “यो परिवारको सबै उमेर समूहका सबै जना एकसाथ बसेर हेर्न सकिने चलचित्र हो। यसले हाम्रो समाजको एउटा बलियो पाटोलाई उजागर गर्ने प्रयास गरेको छ।“ चलचित्रको कथा पनि निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको। कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।