२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल



 

पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ । धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको ’फ्रेन्ड्स सिनेमा’ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार एक भव्य समारोहका बीच इलाम नगरपालिक ७ स्थित नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

नयाँ हलको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता पल शाह, चर्चित अभिनेत्री उषा उप्रेती र द्वन्द्व निर्देशक तथा निर्माता चन्द्र पन्तको विशेष उपस्थिति रहेको थियो ।

आफ्ना प्रिय कलाकारलाई नजिकैबाट देख्न पाउँदा इलामेली दर्शकहरूको उत्साह हेर्नलायक थियो । हल परिसरमा दर्शकको बाक्लो उपस्थिति र हुटिङले कार्यक्रम निकै उत्सवमय बनेको थियो ।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो हलमा १८८ सिट क्षमता रहेको छ । नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ ।

फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा ’टुके प्रोजेक्सन’ र ’डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष तामाङले इलामका दर्शकहरूलाई एउटा पारिवारिक र सुविधासम्पन्न वातावरणमा फिल्म हेर्ने अवसर प्रदान गर्न यो हल सञ्चालनमा ल्याइएको बताएका छन् ।

अध्यक्ष धामीले भने, “हाम्रो लक्ष्य भनेकै मोफसलका दर्शकलाई राजधानीको स्तरको सेवा दिनु हो । अब इलामका फिल्म प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको छ । हामीले अत्याधुनिक प्रविधिसँगै आरामदायी बस्ने व्यवस्था र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौँ ।“

इलाममा स्तरीय सिनेमा हलको अभाव खड्किरहेका बेला फ्रेन्ड्स सिनेमाको आगमनले स्थानीय मनोरञ्जन क्षेत्रमा नयाँ इँटा थपेको छ । यो हल सञ्चालनमा आएसँगै नयाँ नेपाली चलचित्रहरू देशभर रिलिज भएकै दिन इलाममा पनि प्रदर्शन हुनेछन् । यसले गर्दा स्थानीय बासिन्दा मात्र नभई इलाम घुम्न आउने पर्यटकहरूका लागि पनि मनोरञ्जनको एउटा राम्रो गन्तव्य थपिएको छ ।

फ्रेन्ड्स सिनेमाले आगामी दिनमा देशका अन्य सहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ ।

फ्रेन्डस् सिनेमाका डाइरेक्टर आशिस एच तामाङले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।

अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।