ललितखबर
एउटा जमाना थियो चलचित्रका दृश्यहरु लुकाइन्थ्यो । खासै प्रचार सामाग्री सार्वजनिक हुँदैनथ्यो । एकै पटक चलचित्रको पर्दामा हिरोको इन्ट्रि । चलचित्र बबाद भन्दै हल्लाखल्ला हुन्थ्यो । त्यो बेला चलचित्रको प्रचारशैली नै यस्तो हुन्थ्यो ।
तर पछिल्लो समय चलचित्र प्रर्दशनअघि पोस्टर, टिजर र ट्रेलर मात्रै होइन धेरै कुरा सार्वजनिक हुन्छ । चलचित्रबारे चर्चा यतिसम्म हुन्छ कि चलचित्रबारे जान्ने र बुझ्न बाँकी केही रहन्न । पछिल्लो समय चलचित्रबारे धेरै जानकारी दिएर दर्शकलाई उत्सुक बनाएर हलसम्म तान्ने फर्मुला चलचित्रकर्मीहरुले प्रयोग गरिरहेका छन् ।
प्रर्दशनको पुर्वसन्ध्यामा राजधानीमा सार्वजनिक गरिएको. चलचित्र ‘राम नाम सत्य’ ट्रेलर हेर्दा कथाबस्तुको भने अत्तोपत्तो हुन्न । ट्रेलरले विषयवस्तुको सामन्य छनक समेत दिएको छैन । दर्शकलाई कथाको अंश देखाएर उत्सुकता जगाउने पछिल्लो परिपाटीलाई चिर्दै सार्वजनिक ट्रेलरमा पात्रहरुको अभिनय शिल्प बाहेक केही देख्न पाइन्न ।
थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरेका माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यस चलचित्रमा एक्सनका चर्चित अभिनेता विराज भट्टको अभिनय छ ।
चलचित्रमा कथा लुकाइएको छ । भारतलगायत विभिन्न देशको झण्डा ट्रेलर मा देखाइएको सन्दर्भमा चलचित्र राष्ट्रियता वा सिमाविवादको विषय हुनसक्ने अनुमान गर्न सकिन्छ । दृश्यहरुमा पैसाका चलखेलको कथा बुनिएको देख्न सकिन्छ ।
हुन त ट्रेलरमा सबै कुरा नभेटिन सक्छ तर पनि चलचित्रको विजिएम दमदार देखिन्न । उनकै छोरा समिर भट्टको एक्सन हेर्ने बानी परेर पनि हुनसक्छ । अघिल्ला चलचित्रमा देखिएको जस्तो एक्सन विराज भट्टले देखाएको अनुभव हुन्न । कार्यक्रममा अभिनेता भट्टले चलचिको सबै कथा प्रचार समाग्रीमा नभेटिने तर्क गर्दै यही २७ गते हलमा गएर हेर्दा सबै खुल्ने बताए ।
अभिनेत्री दिव्या रायमाझी र सुपुष्पा भट्टले पनि आफ्नो भूमिका खुलाएनन् ।
चलचित्रको ट्रेलर हेर्दा केही समयअघि प्रर्दशन भएको चलचित्र बलिदानबाट प्रभावित देखिन्छ । लासहरुको थुप्रो र आगोको लप्काहरु हेर्दा यो चलचित्र पहिले हेरिसकेको जस्तो लाग्नसक्छ ।
चैत्र २७ गतेबाट एकल प्रर्दशनीको अवसर पाएको यस चलचित्रभित्र सस्पेन्स, लभ र एक्सनका मसला रहेको बुझ्न सकिन्छ ।
ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री दिव्या रायमाझीको लभ र इमोसन छछल्किएको छ । ट्रेलरमा टिकटिकमार्फत दर्शकमाझ परिचित नव–अभिनेता आयुष सिंह ठकुरीको अभिनय र चरित्रले दर्शकलाई उत्सुकता जगाउन सफल छ ।
नृत्यमार्फत नेपाली दर्शकमाझ परिचय बनाएकी थाइल्याण्डकीनेपाली कलाकार खुशी कार्की पनि ट्रेलरमा झुल्किएकी छिन् । उनको भूमिका र अनियन शैलीबारे दर्शकलाई थप उत्सुकता जगाएको छ ।
चलचित्रमा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय रहेको राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा जानकारी दिइएको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, फिल्मका सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताको रुपमा छन् ।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ ।








प्रतिक्रिया