ललितपुर
ललितपुरको धापाखेलमा जेष्ठ नागरिक दिवा सेवा सञ्चालनका लागि स्थानीय संघसंस्थाहरु जुटेका छन् ।
पछिल्लो समय बढ्दो व्यस्तता र सहरभित्र रहेका बृद्धा आमा बुवाहरुलाई दिनभर सेवा गर्न आवश्यकता महसुस गर्दै यही चैत्र २६ गतेबाट स्वर्णिम श्रीमद् भागवत सप्ताह भक्ति अनुष्ठान मार्फत सहयोग जुटाउन पहल सुरु गरिउको हो ।
ललितपुर महानगरपालिका वडा नं २३ अन्तर्गत टोल सुधार समिति, महिला समूह र विभिन्न संघसंस्थाहरूको आयोजनामा सुरु हुने भक्ति अनुष्ठानको कथाबाचन कथाब्यास आचार्य ओमप्रकाश सुवेदीले गर्नेछन् । अनुष्ठानका संकल्पकर्ता मुमुक्ष उद्ववशर्मा हुमागाई रहेका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार अनुष्ठान महानगर वडा नं २३ धापाखेलकार्यालय परिसरमा सञ्चालन हुने छ। सप्ताह बैशाख ३ गतेसम्म चल्ने यस अनुष्ठानमा पूर्वीय दर्शन अनुशरण गर्दै वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उदेश्य रहेको संकल्पकर्ता हुमागाईले जानकारी दिएका छन्
अनुष्ठानमा हरेक दिन बिहान ७ बजे पूजा, ८ बजेदेखि पाठपारायण र करिव ११ बजेदेखि ६ बजेसम्म कथावाचन हुनेछ। त्यसैगरी प्रत्येक दिन दिव्य झाँकी प्रदर्शनका साथै भक्ति संगीत हुने समितिका संयोजक देवकी शर्माले मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो। शुरूको दिन बिहान यज्ञस्थलबाट कलश यात्रा हुनेछ। त्यसैगरी समापनको दिन साँझ लक्ष्यदीप प्रज्वलन कार्यक्रम सामूहिक ब्रतबन्ध, विवाह, ग्रह शान्ति , तुलादान र १००८ शालिग्राम पूजा अर्चना परिक्रमा हुनेछ।
सो अवसरमा देशव्यापी १ सय ८ श्रीमद्भागवत सत्संकल्प अभियाकर्ता समेत रहेका मुमुक्ष हुमागाईले आध्यात्मिक शान्तिका लागि आफूले आफैलाई चिन्नुपर्नेमा जोड दिँदै त्यसका लागि भक्ति अनुष्ठान कार्यक्रम आयोजना गरेको बताएका छन् श्रीमद् भागवत एवं अन्य पुराणशास्त्र सुनेर आत्मिक शान्तिको महशुस गर्न ईच्छुकहरू कार्यक्रममा सहभागी हुन सकिने मुमुक्ष हुमागाईको भनाई छ। अनुष्ठानबाट चढाइने भेटी, दान दक्षिणाबाट जम्मा भएको रकम जेष्ठ नागरिक दिवा केन्द्र स्थापनामा खर्चिने छ।
सो अवसरमा वडा नं २३ का वडाअध्यक्ष जीवन महर्जनले वडावासी सबै मिलेर यो अनुष्ठानलाई सफल बनाउनुपर्ने खाँचो औल्याए । ललितपुरको सातदोबाटोबाट करिब दुई किलोमिटर दुरीमा हुने यस अनुष्ठानले धापाखेललाई चिनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।







प्रतिक्रिया