५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार जितु नेपालले निर्माण गरे चलचित्र ‘आइ एम जीत बहादुर’



कलाकार जितु नेपालले चलचित्र ‘आइ एम जीत बहादुर’ निर्माण गरेका छन् ।

यस चलचित्र को भर्खरै प्रदर्शन मिति तय गरिएको छ। फस्र्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो। केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको थियो।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोष को निर्देशनमा तयार भएको यस चलचित्रले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्छ। चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्।

यसका साथै चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूको यस्तो संयोजनले फिल्मप्रति दर्शकको उत्साह अझ बढ्ने निर्माण टिमको विश्वास छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा जोडिएका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।

सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। अभिनेता जितु नेपालले तीन दशकभन्दा बढीको कलाकारिता यात्रामा दर्जनौँ चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरिसकेका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।