काठमाडौँ
पालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय फोटो पत्रकारको टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको सो टोली बङ्गलादेश फोटो पत्रकार सङ्घको निमन्त्रणामा बङ्गलादेश प्रस्थान गरेको हो ।
केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका तीन सदस्यसहितको उक्त टोलीले नेपाल–बङ्गलादेशबीच विगत २१ वर्षदेखि कायम रहँदै आएको फोटो पत्रकारिता मार्फतको भाइचारा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ ।
टोलीले बङ्गलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमा नेपालको पर्यटकीय तथा सांस्कृतिक क्षेत्र झल्काउने ४० वटा तस्बिर प्रदर्शन गरिने कार्यक्रम रहेको समूहले जनाएको छ । प्रदर्शनीको मुख्य उद्देश्य नेपालको पर्यटन प्रवर्द्धन र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु रहेको छ ।
बङ्गलादेशमा आयोजना हुने अन्तरराष्ट्रिय फोटो पत्रकारिता सेमिनारमा नेपाली टोलीले सहभागिता जनाउनेछ । उक्त सेमिनारमा अध्यक्ष वन्तले नेपालको समग्र फोटो पत्रकारिता तथा एसियाली सन्दर्भमा यसको अवस्था र चुनौतीबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
टोलीले ‘आईएचआई फोटो जर्नलिस्ट अप्रिसिएसन अवार्ड २०२६’ कार्यक्रममा सहभागिता जनाउनेछ । यस प्रकारका कार्यक्रमले दुई देशबीचको पेसागत सम्बन्ध मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया